महामन्त्रीद्वय थापा र शर्मालाई कारबाही गर्ने कांग्रेस संस्थापनको तयारी

महामन्त्रीद्वय थापा र शर्मालाई कारबाही गर्ने कांग्रेस संस्थापनको तयारी

पार्टी जोगाउन सकिएन, उहाँहरु पार्टी फुटाउनेतर्फ अघि बढेको देखियो : पूर्णबहादुर खड्का



काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले महाधिवेशन पक्षधरका नेताहरूलाई कारबाहीको तयारी गरेको छ । संस्थापन पक्षका एक नेताले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मासहितका नेताहरूलाई कारबाही गर्ने तयारी भएको जानकारी दिए ।

विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रिया अगाडि बढाएर मनोनयनको अन्तिम सूची सार्वजनिक गर्न लागेपछि कारबाहीबाहेक अरु विकल्प नरहेको संस्थापन पक्षको निष्कर्ष छ ।

निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरे लगत्तै कारबाहीको पत्र पठाइने संस्थापनकाको तयारी छ ।

गगन थापाले सभापतिमा उम्मेदवार दर्ता गराएका छन् । महामन्त्री पदका लागि भने विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।

सानेपा पुगेका कार्यकर्तालाई कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी जोगाउन नसकिएको बताए ।

‘उहाँहरु पार्टी फुटाउनेतर्फ अघि बढेको देखियो,’ खड्काले भने,‘सहमतिका लागि हदैसम्मको लचकता देखाउनुभएको थियो । हस्ताक्षर छाड्छु भन्नुभएको थियो । हस्ताक्षर छोड्न तयार हुँदा पनि निर्वाचन प्रक्रिया रोक्नुभएन ।’

उनका अनुसार विशेष महाधिवेशन पक्षधर पार्टी फुटाउनेतर्फ नै अघि बढेका छन् ।