विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन हुन्छ : गगन थापा

विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन हुन्छ : गगन थापा

‘कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी हाेइन’



काठमाडौं । कांग्रेस नेता गगन थापाले शेरबहादुर देउवा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति भङ्ग भइसकेकाले नयाँ कार्यसमिति चयन हुने बताएका छन् । भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन हलमा सम्बोधन गर्दै थापाले सानेपाको निर्णयबारे कुनै प्रतिक्रिया नरहेकाे बताए ।

उनले विशेष महाधिवेशनमार्फत निर्वाचन प्रक्रिया अघि बढ्ने र नयाँ कार्यसमिति चयन गर्ने बताए । ‘विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गर्छ’, महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले भने, ‘सानेपामा बसेर गरेको निर्णयबारे मेरो कुनै प्रतिक्रिया छैन, किनभने त्यो अस्ति नै भङ्ग भैसकेको छ ।’

उनले निर्वाचन आयोग र नेपालको संविधान कानुनप्रति विश्वास रहेकाले कांग्रेस विधान अनुसार गरिएको विशेष महाधिवेशनलाई आयोगले मान्यता दिने विश्वास व्यक्त गरे । उनले आफूहरूलाई अलमल्याएर सानेपाले निर्वाचन आयोगमा पत्र पठाएको भन्दै आक्रोश व्यक्त गरे । उनले आफूहरूलाई कारबाही गर्नुअघि स्पष्टीकरण सोध्नुपर्ने भन्दै त्यो कारबाहीको वैधता नरहेको दाबी गरे ।

थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् । ‘हामीलाई कारबाही गरेको सुनेका छौं,’ थापाले भने, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२/०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ । कसैले हटायौं भनेर हट्ने होइन ।’