गगन–विश्वलाई महेशले भने– पार्टीलाई खरानी बनाउने बाटो रोज्नु दुर्भाग्यपूर्ण

गगन–विश्वलाई महेशले भने– पार्टीलाई खरानी बनाउने बाटो रोज्नु दुर्भाग्यपूर्ण



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव महेश बस्नेतले ‘लासहरूको पार्टी होइन कांग्रेस’ भन्दै उफ्रिने केही नेताहरूले ऐतिहासिक लोकतान्त्रिक पार्टीलाई खरानी बनाउने बाटो रोज्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै कांग्रेसभित्र देखिएको विभाजन अत्यन्तै दुःखद र चिन्ताजनक भएकाे धारणा राखेका हुन् ।

नेता बस्नेतले भनेका छन्, लोकतन्त्र कमजोर बनेको, देश राजनीतिक अस्थिरता र अनिश्चितताको चरणमा रहेको बेला कांग्रेसभित्र देखिएको विभाजन अत्यन्तै दुःखद र चिन्ताजनक घटना हो । यस्तो संवेदनशील समयमा लोकतन्त्रको मर्म जोगाउन सबै लोकतान्त्रिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने थियो । तर, ‘लासहरूको पार्टी होइन कांग्रेस’ भन्दै उफ्रिने केही नेताहरूले ऐतिहासिक लोकतान्त्रिक पार्टीलाई खरानी बनाउने बाटो रोज्नु दुर्भाग्यपूर्ण छ ।’

नेता बस्नेतले थप भनेका छन्, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निरंकुशताको आरोप खेपेर भए पनि पार्टीलाई एकताबद्ध राख्न खेलेको भूमिका अतुलनीय र प्रशंसनीय छ । बलियो एमाले र केपी ओलीजस्तो अभिभावकत्व, स्पष्ट नेतृत्व र पार्टीप्रतिको जिम्मेवारी नभएको अवस्थामा कांग्रेस विभाजनतर्फ धकेलिएको यथार्थलाई नजरअन्दाज गर्न सकिँदैन ।’

उनले कांग्रेसभित्र घटेको यो नसोचेको घटना लोकतन्त्रप्रेमी सबैका लागि पीडादायक बनेको पनि बताएका छन् । उनले भने छन्, ‘लोकतन्त्र धरापमा परेको, असंवैधानिक अभ्यासहरू हावी हुँदै गएको र विदेशी चलखेलले देशको अस्तित्वसमेत संकटमा परिरहेको बेला गगन थापा र विश्वप्रकाश शर्माजस्ता नेताहरूको भूमिकाले स्थितिलाई सच्याउँछ कि अझै जटिल बनाउँछ, यसको गम्भीर समीक्षा इतिहासले गर्ने नै छ । जे होस्, आज कांग्रेसभित्र घटेको यो नसोचेको घटना लोकतन्त्रप्रेमी सबैका लागि पीडादायक बनेको छ ।’