काठमाडौं । चीनतर्फको जङ्गलमा लागेको डढेलोका कारण बन्द भएर हिजो खुलेको तातोपानी नाका आजदेखि फेरि बन्द भएको छ ।
न्यालम र खासा क्षेत्रको सीमावर्ती वन क्षेत्रमा आइतवार रातिदेखि लागेको ठूलाे डढेलोका कारण सोमवारदखि ठप्प भएको नाका हिजो केहीबेर खुलेको थियो । तर न्यालम र खासाको मध्यभाग तथा छोबिन क्षेत्रको डढेलो ननिभेकाले आजदेखि फेरि नाका बन्द गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।
उहाँका अनुसार चिनियाँ प्रशासनले तत्काल नाका सञ्चालन सम्भव नभएको जानकारी गराएको छ । नाका बन्द हुँदा चीनतर्फ जानुपर्ने झन्डै चार सय वटा कन्टेनर अलपत्र परेका छन् ।
आगलागीका कारण चीनतर्फको भन्सार कार्यालयको प्रणाली सञ्चालनमा आउन सकेको छैन । चीनतर्फको भन्सार प्रणाली पूर्णरूपमा सञ्चालनमा आएपछि मात्र नाका खुल्नेबारे निर्णय हुने चिनियाँ पक्षले जनाएको छ ।
मितेरी पुलबाट झन्डै १० घण्टा पैदल हिँडेर पुगिने बगामको शिरभेगमा रहेको जङ्गलमा डढेलो लागिरहेको हो । अहिले चीनले हेलिकप्टरमार्फत पानी फ्याँकेर आगो निभाउने काम भइरहेको छ ।


प्रतिक्रिया