दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले देशमा निर्वाचन हुने/नहुने भन्ने अन्योल कायमै रहेको अवस्थामा प्रतिनिधिसभाको पुनःस्थापना नै सबैभन्दा स्पष्ट र सुरक्षित बाटो भएको बताएका छन् ।
प्रेस चौतारी दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको र नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक सङ्कटका कारण फागुन २१ गते तय गरिएको निर्वाचनप्रति आशङ्का उत्पन्न भएको बताए ।
उनले यस्तो परिस्थितिमा संसद् पुनःस्थापना नै उपयुक्त विकल्प भएको धारणा राख्नुभयो।सरकार निर्वाचनको तयारीतर्फ भन्दा अराजकता र लोकप्रियतावादलाई प्रोत्साहन गर्न उद्धत देखिएको आरोप लगाउँदै महासचिव पोख्रेलले रवि लामिछानेमाथि लागेको सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिनेजस्ता गतिविधिले सरकार कहाँबाट र कसरी सञ्चालित भइरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको बताए ।
नयाँ वैकल्पिक शक्तिका रूपमा आफूलाई स्थापित गर्न खोजेको राष्ट्रिय स्वतन्त्र पार्टीले कानुनी शासन र संवैधानिक सर्वोच्चतालाई स्वीकार गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
नेपाली कांग्रेसभित्र देखिएको विवादले लोकतन्त्रमा गम्भीर असर पार्न सक्ने उल्लेख गर्दै पोख्रेलले यस्ता गतिविधिले निर्वाचनको वातावरण कमजोर बनाउने र गलत तत्वलाई फाइदा पुग्ने चेतावनी दिए ।
समाजमा शान्ति र सुरक्षाको प्रत्याभूति अझै हुन नसक्नु चिन्ताजनक रहेको भन्दै लुटिएका हतियार सङ्कलन गर्ने, भगाइएका कैदी फिर्ता ल्याउने तथा प्रहरीको मनोबल उच्च बनाउने काममा सरकार गम्भीर हुनुपर्ने सुझाव दिए ।


प्रतिक्रिया