काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीले गरेको निर्णय सुनेर विचलित नहुन आग्रह गरेका छन् ।
केहीबेर अघि एमाले सचिवालय बैठकले देशभरिका लागि उम्मेदवार तय गरेको छ । उम्मेदवारको नाम सार्वजनिक भए लगत्तै विभिन्न टीकाटिप्पणी सुरु भइरहेको छ । यसैबिच भट्टराईले नेकपा एमालेका नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै एकताबद्ध हुन र पार्टीको उम्मेदवारलाई विजयी गराउन समेत आह्वान गरेका छन् ।
‘निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु । अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु । हाम्रो यात्रा लामो र ग़ौरबपूर्ण छ’ उनले लेखेका छन् ।
ताप्लेजुङबाट भट्टराई निर्वाचन लड्दै आइरहेका छन् । आजको बैठकले त्यो क्षेत्रमा अध्यक्ष ओलीले टुङ्ग्याउने भन्दै खाली छाडिएको छ ।
ओलीले भट्टराईसहित सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, कर्ण थापा, गणेश पहाडी, झपट रावल, तारा लामा लगायतप्रति ओली अनुदार भएको पाइएको छ । यी नेताहरू एमालेको ११ औैं राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका थिए ।
शनिबारको सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको टुंगो लगाए पनि केही महत्त्वपूर्ण क्षेत्रहरूका सवालमा अध्यक्षले टुंगो लगाउने भन्दै बैठक सकिएको छ ।


प्रतिक्रिया