प्रलोपाले आवश्यकताअनुसार निर्वाचनमा तालमेल गर्ने

प्रलोपाले आवश्यकताअनुसार निर्वाचनमा तालमेल गर्ने



काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा आवश्यकताअनुसार निर्वाचन तालमेल गर्ने निर्णय गरेको छ ।

पार्टीको अध्यक्ष परिषद्को बैठकले स्थानीय परिस्थिति र निर्वाचन क्षेत्रको सापेक्षता मूल्याङ्कन गरी घोषित तथा अघोषित दुवै किसिमको तालमेल गर्न प्रोत्साहन गर्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सुविधानगरमा आइतबार अध्यक्ष सन्तोष परियारको अध्यक्षतामा सम्पन्न अध्यक्ष परिषद् बैठकले उक्त निर्णयसहित विभिन्न पाँच वटा प्रस्तावमाथि छलफल गरी निर्णय गरेको हो । बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन क्षेत्रका टिकट प्रदेश इन्चार्जहरूलाई पठाउने निर्णय पनि गरेको छ ।

त्यसैगरी निर्वाचन प्रचार–प्रसारलाई प्रभावकारी बनाउन अध्यक्ष परिषद् सदस्य सन्तोष परियारको संयोजकत्वमा १०१ सदस्यीय बृहत निर्वाचन प्रचार–प्रसार समिति गठन गर्ने निर्णय गरिएको छ ।

समितिमा प्रदेश इन्चार्ज तथा सह–इन्चार्ज, अध्यक्ष परिषद्, केन्द्रीय समिति सदस्य, प्रचार–प्रसार र आईटी विभाग, अन्य विभागका प्रमुख तथा जनवर्गीय सङ्गठनका प्रतिनिधि रहनेछन् ।

बैठकले विदेश प्रदेशतर्फ अध्यक्ष परिषद्मा यूएईबाट रोशन देव र अमेरिकाबाट मोहन कुसारीलाई थप गर्ने निर्णय गरेको छ ।