दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङबाट ६२ जनाको उम्मेदवारी परेको छ । तीन निर्वाचन क्षेत्र रहेको दाङमा १९ स्वतन्त्र उम्मेदवारसमेत चुनावी मैदानमा उत्रेका छन् ।
दाङका मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार निर्वाचन क्षेत्र नं. १ मा दुई स्वतन्त्रसहित १४ जना, क्षेत्र नं २ मा आठ स्वतन्त्रसहित २३ जना र क्षेत्र नं ३ मा नौ स्वतन्त्रसहित २५ जनाको मनोनयन दर्ता भएको छ ।
क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका योगेन्द्र चौधरी, नेकपा (एमाले) का रेवतीरमण शर्मा, नेपाली कम्युनिस्ट पार्टीका मेटमणि चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रासद केसीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल, नेपाली कांग्रेसका किरणकिशोर घिमिरे, नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्यको उम्मेदवारी परेको छ ।
त्यसैगरी क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसबाट दीपक गिरी, नेकपा (एमाले) का घनश्याम पाण्डे, नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्की, राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीलगायतको उम्मेदवारी परेको छ ।


प्रतिक्रिया