काठमाडौं महानगरको प्राथमिकतामा अब फुटपाथ र पार्किङ

काठमाडौं महानगरको प्राथमिकतामा अब फुटपाथ र पार्किङ


ग्लोब नेपाल
297
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरको सौन्दर्य र आवागमनलाई व्यवस्थित बनाउन फुटपाथ तथा पार्किङ व्यवस्थापनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा महानगरका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले अबको कार्यदिशाबारे स्पष्ट पार्दै यस्तो जानकारी दिएका हुन् ।

प्रमुख जोशीले महानगरभित्र धुलो, धुवाँ नियन्त्रण, सार्वजनिक शौचालयको व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण तथा जथाभावी सञ्चालित वर्कसपहरूको नियमनमा केन्द्रित हुन मातहतका नगर प्रहरीलाई कडा निर्देशन दिए । लामो समयको प्रयासपछि धेरै बेथितिहरू नियन्त्रणमा आइसकेको उल्लेख गर्दै उनले अब ती सुधारहरूलाई दिगो बनाउन निरन्तर अनुगमन (मनिटरिङ) मात्र गरे पुग्ने बताए ।

नगर प्रहरीको आन्तरिक अनुशासन र कार्यशैलीमा पनि उनले विशेष जोड दिए । काममा दख्खल राख्नुको साटो सरुवा-बढुवा वा अन्य लाभका लागि ‘शक्तिकेन्द्र’ धाउने प्रवृत्ति अन्त्य गर्न उनले चेतावनी दिए । ‘शक्तिकेन्द्र धाउने काम कम गरौँ, अहिलेको जिम्मेवारीमा फोकस होऔँ,’ उनले भने ।

जनतासँगको व्यवहारमा सुधार ल्याउनुपर्नेमा जोड दिँदै उनले प्रहरी जवानहरूलाई भाषामा संयमता अपनाउन सुझाव दिए । उनले भने, ‘ड्युटीमा रहँदा सबैसँग सम्मानजनक हिसाबले बोल्नुस् । कसैलाई पनि ‘तँ’ नभन्नुस्, भाषा सधैं नरम र शिष्ट हुनुपर्छ ।’

यसका साथै, सार्वजनिक स्थलहरूमा धुम्रपान निषेध गराउन पनि उनले नगर प्रहरीलाई निर्देशन दिए । विगतमा गरिएका सकारात्मक कामहरूलाई निरन्तरता दिँदै महानगरलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।