काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका उमेदवारको आज नामावली प्रकाशन हुँदै छ ।
निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उमेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थियो । उक्त उजुरीपछि आज बेलुका ५ बजेसम्म मनोनयपत्र र उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
यसैबीच, उमेदवारी दिएका पाँच उमेदवारविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार, भक्तपुर, सुनसरी, रौतहट, कैलालीबाट उमेदवारी दिएका उमेदवारविरुद्ध उजुरी परेको छ ।
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा दुईजना, सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा एकजना, रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा एकजना र कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा एकजना उमेदवारविरुद्ध उजुरी परेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका निम्ति माघ ६ गते सबै निर्वाचन क्षेत्रमा कुल तीन हजार ४८७ उमेदवारको मनोनयन पत्र दर्ता भएको थियो ।
आयोगले तालिकाअनुसार मंगलबार (माघ ६) देशैभर उमेदवारको मनोनयन पत्र दर्ता भएको थियो । मनोनयन पत्र दर्ता गरेका उमेदवारहरूउपर बुधबार बिहान १० देखि दिउँसो ३ बजेसम्म दाबीविरोध पेस गर्ने समय तोकिएको थियो ।
आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारको नाम फिर्ता लिनसक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उमेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।


प्रतिक्रिया