डिजिटल नेपालका मौन शिल्पकार : केशव नेपालको कथा

डिजिटल नेपालका मौन शिल्पकार : केशव नेपालको कथा


ग्लोब नेपाल
216
Shares

काठमाडौं । नेपालको संचार तथा सूचना प्रविधि क्षेत्रमा केही व्यक्तिहरू यस्ता हुन्छन्, जो सरकार बदलिँदा बदलिँदैनन्, नीतिहरू फेरिँदा पनि अझ आवश्यक बन्दै जान्छन् । तीमध्ये एक नाम हो- केशव नेपाल ।

राजनीतिक दल, सत्ता समीकरण वा वैचारिक ध्रुवीकरणभन्दा माथि उभिएर देशको डिजिटल मेरुदण्ड मजबुत बनाउँदै आएका केशव आज नेपालको संचार जगतका अपरिहार्य व्यक्तित्व हुन् ।

केशवको योगदान कुनै एक सरकार, नीति वा परियोजनामा सीमित छैन । उनको योगदान संरचना निर्माणमा, दूरदृष्टि विकासमा र भोलिको नेपाल तयार पार्नमा केन्द्रित छ । त्यसैले जुनसुकै पार्टीले सरकार बनाए पनि, नेपालको संचार क्षेत्रले उनलाई आवश्यक ठानिरहन्छ ।

सरकारी सेवामा आबद्ध परिवारमा जन्मिएका केशव बाल्यकालदेखि नै अनुशासन, इमानदारी र जिम्मेवारीका संस्कारमा हुर्किए । सुरक्षित पारिवारिक पृष्ठभूमि हुँदाहुँदै पनि उनले सजिलो बाटो रोजेनन् । उनको विश्वास स्पष्ट थियो- देश परिवर्तन गर्न चाहनेले जोखिम लिनैपर्छ ।

पोखराको गण्डकी बोर्डिङ स्कुलमा अध्ययन गर्दा उनले गुणस्तरीय शिक्षा र कडा अनुशासनको महत्व बुझे । त्यसपछि बुटवल मल्टिपल क्याम्पसमा उच्च शिक्षा हासिल गर्दै उनले अध्ययनसँगै जीवनलाई बुझ्ने अभ्यास थाले ।

विद्यार्थी जीवनमै बस किनेर आफैँ रात्रि बस चलाउनु केवल आम्दानीको उपाय थिएन, त्यो नेपाल बुझ्ने विद्यालय थियो- जहाँ उनले आम नागरिकको दुःख, आवश्यकता र सम्भावनालाई नजिकबाट देखे ।

संचारप्रति मोह र प्रविधिप्रति प्रतिबद्धता
पत्रकारिताबाट सुरु भएको उनको संचार यात्राले उनलाई विचार निर्माण, सूचना प्रवाह र जनचासो बुझ्ने क्षमतामा निखार ल्यायो । अंग्रेजी पत्रिका सञ्चालनदेखि लिएर काठमाडौंका प्रतिष्ठित मिडियामा सम्पादक र प्रकाशकसम्मको यात्रा उनले गरे । तर उनको सपना कागजमा सीमित थिएन- उनको दृष्टि डिजिटल संचारतर्फ मोडिएको थियो ।

यही सोचका साथ उनी बुटवल फर्किए र नेपालमै पहिलो पटक फोन लाइनबिनै चल्ने वायरलेस इन्टरनेटको सम्भावना खोज्न थाले । पहाड, तराई, दुर्गम बस्ती- जहाँ गाडी पुग्दैन, त्यहाँ उनी आफैँ जीप चलाएर पुगे । यसै क्रममा उनले प्रमाणित गरे— नेपालमा प्रविधि सम्भव छ, चाहिने केवल प्रतिबद्धता हो ।

फाइबर प्रविधिको भविष्य पहिचान गर्दै केशव नेपालले एफटीटीएच (Fiber to the Home) मा आफ्नो समयको लगानी गरे । यही दृष्टिले जन्मियो- लुम्बिनी नेट । सस्तो, भरपर्दो र पहुँचयोग्य इन्टरनेटको अवधारणाले कम्पनीलाई तीव्र गतिमा अघि बढायो ।

पछि वर्ल्डलिंकसँगको एकीकरणपछि, उनले वर्ल्डलिंक कम्युनिकेसनको नेतृत्व सम्हाले ।

केशवलाई विशेष बनाउने पक्ष यही हो- उनी नीति कुरिरहेका छैनन्, नीति बन्नु अघि नै आवश्यकता पहिचान गर्छन् । जब “डिजिटल नेपाल” सरकारी दस्तावेजमा सीमित थियो, उनी कर्णाली, सुदूरपश्चिम र हिमाली जिल्लाका दुर्गम बस्तीमा पैदल हिँड्दै इन्टरनेटको सम्भावना खोजिरहेका थिए ।

हुम्ला, सिमकोट, बाजुरा, दार्चुला होस् वा खोटांग ताप्लेजुङ —यी नाम उनका लागि नक्साका बिन्दु होइनन्, प्रत्यक्ष अनुभव हुन् । यही कारण हो, जुनसुकै सरकारले डिजिटल नीति ल्याओस्, कार्यान्वयनका लागि केशव नेपालजस्ता व्यक्ति अपरिहार्य हुन्छन् ।

आफ्नो नेतृत्व क्षमतालाई विश्वस्तरमा परिष्कृत गर्न उनले ‘INSEAD’ बाट Executive MBA पूरा गरे । अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपालको प्रतिनिधित्व गर्दै उनले नेपाललाई केवल उपभोक्ता होइन, सम्भावनायुक्त डिजिटल राष्ट्रको रूपमा प्रस्तुत गरे ।

नोकियाबाट प्राप्त “Business as Unusual” पुरस्कार उनको सोचको अन्तर्राष्ट्रिय मान्यताको प्रमाण हो ।

केशव कुनै पार्टीका प्रवक्ता होइनन् । उनी कुनै विचारधाराका बन्दी होइनन् । उनी राष्ट्रको आवश्यकताका प्रतिनिधि हुन् । जब सरकार बदलिन्छ, मन्त्री बदलिन्छन्-तर इन्टरनेट चाहिन्छ संचार चाहिन्छ ।जब नीति फेरिन्छ, प्राथमिकता फेरिन्छ—तर पनि संचार चाहिन्छ ।

जब भविष्यको नेपाल कल्पना गरिन्छ- त्यहाँ डिजिटल मेरुदण्ड चाहिन्छ,र त्यो मेरुदण्ड निर्माणमा केशव नेपाल जस्ता दूरदृष्टा, अनुभवी र निष्पक्ष नेतृत्व सधैं आवश्यक रहन्छ ।