बेलायत अमेरिकी ‘शान्ति बोर्ड’मा सामेल नहुने

बेलायत अमेरिकी ‘शान्ति बोर्ड’मा सामेल नहुने



लन्डन । बेलायतले डाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ कार्यक्रममा भाग नलिने निर्णय गरेको छ । विदेशमन्त्री यभेट कुपरले बिहीबार बेलायत आजको हस्ताक्षर समारोहमा उपस्थित नहुने जानकारी दिए ।

राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय द्वन्द्व समाधानका लागि नयाँ निकायको स्थापना गर्दै त्यसको चार्टरमा हस्ताक्षर गर्न डाभोसमा समारोह आयोजना गर्नु हुने छ, जहाँ स्थायी सदस्यताका लागि एक अर्ब डलरको मूल्य ट्याग राखिएको छ ।

“त्यहाँ धेरै काम बाँकी छ र हामी आज हस्ताक्षर कर्ता मध्ये एक हुने छैनौँ । विशेष गरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुने सम्भावना र युक्रेनमा उहाँले देखाएको व्यवहारका कारण बेलायतको चिन्ता छ”, मन्त्री कुपरले बिबिसीसँगको अन्तर्वार्तामा भने, “यो कानूनी सन्धिले धेरै व्यापक विषय उठाउँछ र हामी पुटिनले युक्रेनमा शान्तिका लागि प्रतिबद्धता देखाएको कुनै सङ्केत पाएका छैनौँ ।”

हालसम्म अस्पष्ट रूपमा परिभाषित समूहमा सामेल हुन विभिन्न विश्व नेतालाई निमन्त्रणा पठाइएको छ । सुरुमा गाजाको पुनर्निर्माण निरीक्षण गर्न उद्देश्य राखिएको भए पनि बोर्डको चार्टरले आफ्नो भूमिकालाई सीमित नगरेको देखिन्छ र यसले केही अमेरिकी सहयोगीको आक्रोश पनि आकर्षित गरेको छ । बुधबार राष्ट्रपति ट्रम्पले पुटिनले सहभागी हुन सहमति जनाउनु भएको बताउनु भएको थियो, यद्यपि क्रेमलिनले अहिलेसम्म निमन्त्रणाको अध्ययन गरिरहेको जनाएको छ ।