राष्ट्रिय लिग फुटबलमा एपीएफ र एनआरटी विजयी

राष्ट्रिय लिग फुटबलमा एपीएफ र एनआरटी विजयी



काठमाडौं । राष्ट्रिय लिग फुटबलमा आज भएका खेलमा नेपाल एपीएफ क्लब र न्युरोड टिम (एनआरटी) एफसी विजयी भएका छन् ।

ललितपुरको च्यासल मैदानमा भएको खेलमा एपीएफले चर्च ब्वाइज युनाइटेडलाई ४–१ गोलले हरायो । एपीएफका युवराज खड्काले २ तथा समिराज थोकर र प्रदीप लामाले १/१ गोल गरे । चर्च ब्वााइजका मिलन राईले गोल गरे ।

ललितपुरकै एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले काँक्रेबिहार क्लबलाई २–० गोलले हरायो । एनआरटीका रन्दिप पौडेल र टिमोथी ओकेरेकेले गोल गरे ।

यस्तै च्यासलमै भएको खेलमा सङ्कटा एफसी र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।

राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने छ ।