प्रतिनिधिसभा निर्वाचन : कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

प्रतिनिधिसभा निर्वाचन : कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार



पाेखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

निर्वाचनमा अधिकृतको कार्यालयको तथ्यांकअनुसार उमेदवारी दर्ता गरेकामध्ये कास्कीको क्षेत्र नं २ बाट सबैभन्दा कम उमेरका २६ वर्षीय निर्दोषविक्रम पौडेलको उम्मेदवार परेको छ भने कास्की-३ बाट सबैभन्दा बढी उमेरका ७० वर्षीय गोपाल गिरीले उम्मेदवारी दिएका छन् ।

कास्की- १ मा कुल १७ जना उम्मेदवारमा ३८ वर्षदेखि ६७ वर्ष उमेरसम्मका व्यक्ति चुनावमा प्रतिस्पर्धा गर्दै छन् । यस क्षेत्रमा ११ जना ५० वर्षमुनिमा उम्मेदवार रहेका छन् । क्षेत्र नं २ मा कुल १७ जना उम्मेदवारमध्ये २६ वर्षदेखि ६५ वर्ष उमेर समूहकाले प्रतिस्पर्धा गर्दैछन् । यस क्षेत्रमा १२ जना उमेदवार ५० वर्षभन्दा कम उमेरका छन् ।

त्यस्तै, क्षेत्र नं ३ मा १५ जना उम्मेदवारमध्ये ३६ वर्षदेखि ७० वर्षसम्मका व्यक्तिहरू प्रतिस्पर्धामा उत्रिएका छन् । यस क्षेत्रमा ६ जना उमेदवार मात्रै ५० वर्ष तलका छन् । नवयुवादेखि ७० वर्षसम्मको उमेर समूहसम्मका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । तीन निर्वाचन क्षेत्रमा कूल ४९ जनाले उमेदवारी दर्ता गराएकामा १८ राजनीतिक दलसहित ६ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

कुल ४९ उम्मेदवारमध्ये पाँचजना महिलाको उम्मेदवार परेको छ । अन्य सबै पुरुष छन् । जिल्लामा यसपटक अधिकांश उमेदवार नयाँ छन् । कास्कीमा आसन्न निर्वाचनमा कुल तीन लाख आठ हजार ५७२ जना मतदाता रहेका निर्वाचनमा अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि २०७९ को निर्वाचनमा दुई लाख ९१ हजार ५६८ जना मतदाता रहेकामा यसपटक १७ हजार चार जना नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।