बंगलादेश र नेदरल्यान्ड्स विश्वकपमा छनोट

बंगलादेश र नेदरल्यान्ड्स विश्वकपमा छनोट



काठमाडौं । बंगलादेश र नेदरल्यान्ड्स आईसीसी महिला टी– २० विश्वकपका लागि छनोट भएका छन् । काठमाडौंमा जारी ग्लोबल छनोटअन्तर्गत बुधबार सम्पन्न सुपर सिक्सको खेलमा जित निकाल्दै दुवै टोलीले इंग्ल्यान्ड र वेल्समा हुने प्रतियोगितामा स्थान सुरक्षित गरेका हुन् ।

मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा विहान भएको खेलमा बंगलादेशले थाइल्यान्डलाई ३९ रनले पराजित गर्‍यो । बंगलादेशले दिएको १६६ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।

समूह चरणबाटै ४ अंक लिएर आएको बंगलादेशले आजको जितपछि थप २ अंक जोडेर ६ अंक पुर्‍याएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले अमेरिकामाथि डकवर्थ लुइस(डिएलएस) पद्धतिअनुसार २१ रनको जित हासिल गर्‍यो । अमेरिकाले दिएको १३० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १२ ओभरमा २ विकेट गुमाएर ९० रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो ।

नेदरल्यान्ड्सले पनि समूह चरणबाटै ४ अंक जोडेर आएको थियो । योे जितसँगै नेदरल्यान्ड्सको पनि ६ अंक भएको छ । नेदरल्यान्ड्स पहिलोपटक महिला टी– २० विश्वकपका लागि छनोट भएको हो ।