काठमाडौं । उपत्यकामा शृङ्खलाबद्ध लुटपाट मच्चाउँदै आएको एक ठुलो गिरोहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले काठमाडौँको मूलपानीमा गोली प्रहार गरेको छ । गएराति जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोली र लुटेरा समूहबिच भएको मुठभेडमा प्रहरीले आत्मरक्षाका लागि दुई राउन्ड गोली चलाएको हो ।
प्रहरीको गोली लागेर लुटेरा समूहका नाइके घाइते भएका छन् । उनको पहिचान प्रहरीले गोप्य राखे पनि उनलाई तत्कालै उपचारका लागि वीर अस्पतालस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको छ । लुटेराहरूलाई घेराबन्दीमा पारेर नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरी टोलीमाथि नै सांघातिक आक्रमणको प्रयास गरेका थिए । सोही क्रममा स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले जानकारी दिए ।
मुठभेडका क्रममा प्रहरीले उक्त गिरोहमा आबद्ध १० जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेहरू लामो समयदेखि उपत्यकाका विभिन्न स्थानमा लुटपाट र आतङ्क फैलाउँदै आएका पेशेवर अपराधी भएको प्रहरीको दाबी छ । पक्राउ गर्ने क्रममा भएको घम्साघम्सीमा दुईजना प्रहरी कर्मचारीसमेत घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो समूहले केही समयदेखि काठमाडौँको गौशाला, स्वयम्भू, बौद्ध र भक्तपुरका विभिन्न स्थानमा सङ्गठित रूपमा लुटपाट गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नागरिकको सुरक्षामा चुनौती बनेको यस समूहलाई पक्राउ गर्न प्रहरीले लामो समयदेखि सूक्ष्म निगरानी गरिरहेको थियो ।
पक्राउ परेका व्यक्तिहरूको विस्तृत विवरण र उनीहरूबाट बरामद भएका सामाग्रीबारे थप अनुसन्धान भइरहेको र छिट्टै सार्वजनिक गरिने प्रहरीले बताएको छ ।


प्रतिक्रिया