एनआरटी राष्ट्रिय लिग फुटबलको तेस्रो स्थानमा उक्लियाे

एनआरटी राष्ट्रिय लिग फुटबलको तेस्रो स्थानमा उक्लियाे



काठमाडाैं । संकटा एफसीलाई हराउँदै न्युरोड टिम (एनआरटी) राष्ट्रिय लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।

ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो खेलमा एनआरटीले संकटालाई ३–१ गोलले हरायो । एनआरटीका क्रितिश रत्न छिन्जु र टिमोटी ओकेरेकेले १/१ गोल गर्दा १ गोल उपहारका रूपमा पायो । सङ्कटाका कृष्णबहादुर आलेले गोल गरे ।

प्रतियोगितामा एनआरटीको यो लगातार चौथो जीत हो । एनआरटीले ५ खेलमा १२ अंक जोडेको छ । संकटा लगातार दोस्रो हारसहित ५ खेलमा ५ अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

यस्तै आजको अर्काे खेलमा चर्च ब्वाइज युनाइटेडले नव जन जागृति क्लबलाई ६–१ गोलले हरायो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।

राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने छ ।