काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सोमबार ठूलो गिरावट आएको छ । पछिल्ला दिनहरूमा लगातार उकालो लागिरहेको सुनको भाउमा सोमबार भने ‘ब्रेक’ लाग्दै नाटकीय रूपमा गिरावट देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाल सुनको मूल्य प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेको छ । यससँगै आज बजारमा सुनको मूल्य २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार मात्रै सुन प्रतितोला ३ लाख रुपैयाँको उच्च बिन्दुमा पुगेको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि सोमबार मन्दी छाएको छ । आइतबार प्रतितोला ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ३ सय रुपैयाँले ओरालो लागेर ५ हजार २ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख ४५ हजार ७१५ रुपैयाँ कायम गरिएको छ । त्यसैगरी, प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ४५८ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावकै कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको व्यवसायीहरूको भनाइ छ ।


प्रतिक्रिया