राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारीलाई नेपालमा लगानीको आह्वान

राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारीलाई नेपालमा लगानीको आह्वान



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा जापानको टोकियोमा आज आयोजित व्यापारिक अन्तरक्रियामा उनले नेपाल सरकार विदेशी लगानीमा पूर्ण सहयोग र सुरक्षा प्रदान गर्न कटिबद्ध रहेको बताए ।

नेपालमा आकर्षक प्रतिफलसहितको स्थिर आर्थिक वातावरण तयार भएको र कृषि, जलस्रोत तथा पर्यटनजस्ता क्षेत्रमा ठूलो सम्भावना रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।

लगानी बोर्डले ठूला लगानीकर्तालाई एकद्वार सेवा दिने गरेको र अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाललाई दक्षिण एशियाकै अनुकूल व्यावसायिक वातावरण भएको देशको रूपमा मूल्याङ्कन गरेको उनले बताए ।

उनले भारत र चीनको बीचमा रहेको नेपालको भौगोलिक अवस्थितिले लगानीकर्तालाई बृहत् फाइदा दिने पनि बताएका छन् । कार्यक्रममा जापानी व्यापारीहरूले नेपालमा लगानीको अवसर थाहा पाउँदा खुसी लागेको र यसले लगानीको ढोका खोल्न योगदान पुग्ने धारणा व्यक्त गरेका छन् ।