सुनौलो भविष्य खोज्दै बेलायत पुगेका २२ वर्षीय विवेकानन्दको निधन

सुनौलो भविष्य खोज्दै बेलायत पुगेका २२ वर्षीय विवेकानन्दको निधन


ग्लोब नेपाल
162
Shares

काठमाडौं । उच्च शिक्षा अध्ययनका सिलसिलामा बेलायत पुगेका नेपाली विद्यार्थीको उपचारका क्रममा निधन भएको छ । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१० का २२ वर्षीय विवेकानन्द मण्डलको सन्डरल्याण्ड रोयल अस्पतालमा मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीका अनुसार मण्डल केही समयदेखि फोक्सो र श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित थिए । आइतबार स्वास्थ्यमा थप जटिलता देखिएपछि उनलाई अस्पतालको सघन उपचार कक्ष (आइटियू) मा भर्ना गरिएको थियो । चिकित्सकहरूको अथक प्रयासका बाबजुद सोमबार उनलाई मृत घोषणा गरिएको हो ।

सन् २०२३ को सेप्टेम्बरमा कम्प्युटर साइन्स विषयमा स्नातक तह (अन्डरग्रयाजुएट) अध्ययन गर्न मण्डल बेलायत पुगेका थिए । तर, परदेशको भूमिमा उनको शैक्षिक यात्रा सहज हुन सकेन । आर्थिक कठिनाइका कारण उनले सन्डरल्याण्ड युनिभर्सिटीलाई बुझाउनुपर्ने ३ हजार पाउण्ड शुल्क तिर्न सकेका थिएनन् । शुल्क बक्यौता रहेकै कारण विश्वविद्यालयले उनलाई निष्कासन (एक्सपेल) गरेपछि उनी मानसिक र शारीरिक रूपमा थप शिथिल बनेका थिए ।

विश्वविद्यालयबाट निष्कासित भएपछि मण्डल नेपाल फर्कने तरखरमा थिए । उनको भिसाको अवधि सन् २०२६ फेब्रुअरीसम्म भए तापनि शैक्षिक संस्थाबाट निष्कासनमा परेपछि ६० दिनभित्र बेलायत छाड्नुपर्ने कानुनी प्रावधान थियो ।

मृतक मण्डलका परिवारले शव नेपाल ल्याइदिन आग्रह गरेका छन् । एनआरएनए यूकेका अध्यक्ष पुडासैनीले परिवारको भावनालाई कदर गर्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्वर्गीय मण्डलको पार्थिव शरीर नेपाल पठाउन पहल सुरु गरिएको जानकारी दिएका छन् ।