काठमाडौं । काठमाडौँको बौद्धमा भएको करोडको सुन चोरी प्रकरणमा संलग्न अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका-६, बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सुनका गहना चोरी गरी फरार रहेका प्रेम थारुलाई प्रहरीले मुठभेडका क्रममा पक्राउ गरेको हो ।
मंगलबार दिउँसो करिब १२ बजेको समयमा नेपालगञ्ज घर भएका थारु बौद्धस्थित लामाको घरमा प्रवेश गरेका थिए । घरका सदस्यहरू पाँचौँ तला र छतमा घाम तापिरहेको मौका छोपी उनी सरासर चौथो तलामा पुगेर ढोकाको लक खुस्काएर भित्र छिरेका थिए । उनले त्यहाँ रहेको ३० तोला सुन, चाँदीका गहना र बहुमूल्य ‘सि-माला’सहितका सामग्री झोलामा प्याक गरेर फरार भएका थिए ।
दिउँसो करिब २ बजे कोठामा पुग्दा ढोकाको लक फुटेको र बहुमूल्य गहना गायब भएको देखेपछि घरधनीले तत्काल प्रहरीलाई खबर गरेका थिए । घरमा डेरावालहरूको समेत चहलपहल भइरहेको समयमा दिउँसै भएको ठुलो चोरीले सुरक्षा चुनौती थपेको थियो ।
चोरीको सूचना पाएलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धको टोलीले अनुसन्धान तीव्र पारेको थियो । अनुसन्धानका क्रममा चोरीमा संलग्न थारुको पहिचान खुलेपछि प्रहरीले उनको खोजी कार्यलाई सघन बनाएको थियो ।
गएराति नागार्जुन नगरपालिकाको महांकाल क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा थारुलाई प्रहरीले फेला पारेको थियो । नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले उनीमाथि १ राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी पवन भट्टराईले जानकारी दिए । प्रहरीको गोली लागेर खुट्टामा चोट लागेका थारुको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।


प्रतिक्रिया