काठमाडौँ । मिस हङकङ नेपाल २०२६ को उपाधि दीपमाला खरेल ढकाललाई प्रदान गरिएको छ । हङकङको इटन होटलमा बिहीबार आयोजित ‘ग्रान्ड कोरोनेसन’ समारोहमा उनलाई ताज पहिराइएको हो ।
मिस नेपाल हङकङको ताज मिस नेपाल वर्ल्ड २०२४ की विजेता आश्मा कुमारी केसीले पहिराइ दिएकी थिइन् । मिस नेपाल हङकङ दीपमालाले अब २०२६ मा आयोजना हुने मिस नेपाल प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछिन् ।
यसपटक दीपमाला सिधैँ मिस हङकङ एपोइन्ट भएकी हुन् । आयोजकका अनुसार प्रतियोगिताको गरिमा, विश्वसनीयता र निष्पक्षतालाई प्राथमिकताका साथ हङकङबासीहरुले उक्त निर्णय गरेको हो ।
उपाधि पाएपछि उनले भनिन् ‘हङकङलाई विश्वसामु चिनाउन प्रयास गर्नेछु । मलाई खुसीसँगै अधिक जिम्मेवारको अनुभूति भएको छ ।’दीपमाला विश्वकै ठूला लगानी कम्पनीमध्ये एक ब्ल्याक रकमा लगानी रणनीतिकारका रूपमा कार्यरत छिन् । हङकङमै जन्मेर हुर्किएकी उनले त्यहीँ आफ्नो अध्ययन पूरा गरेकी हुन् ।
व्यावसायिकसँगै दीपमाला बहुआयामिक व्यक्तित्वकी धनी छिन् । उनी हङकङ म्याराथनमा सहभागी धावक, तेक्वान्दो खेलाडी तथा कुशल कार्यक्रम प्रस्तोता टेड स्पिकर, रन वे मोडलिङ, हङकङ टोस्टमास्टर समेत हुन् ।
शिक्षा, खेलकुद, कला र व्यवस्थापन क्षमताको सन्तुलित संयोजन नै उनलाई अरू प्रतिस्पर्धीभन्दा फरक बनाउने मुख्य आधार बनेको हो । कार्यक्रममा द हिडन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापितले भने भिडियो कन्फरेन्समार्फत सम्बोधन गरेका थिए । मिस हङकङ नेपाल २०२६ हिडन ट्रेजरले एपोन्ट गरेको हो ।


प्रतिक्रिया