काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–७ पोखरी टोलका एक युवक मृत अवस्थामा भेटिएका छन । २० वर्षीय युवक अनिल महतो पोखरीमा मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
गत सोमबार रातिदेखि बेपत्ता भएका उनी बुधबार बिहान आफ्नै घरबाट करिब एक किलोमिटर टाढा रहेको पोखरीमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईका अनुसार, सोमबार राति घरबाट निस्किएका अनिल मंगलबारसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजतलास सुरु गरेको थियो ।
खोजी गर्दा फेला नपरेपछि मंगलबार प्रहरीमा निवेदन दिइएको थियो । बुधबार दिउँसो स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । मृतकको साथबाट मोबाइल फोनसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
मृतक अनिल लेबरको रूपमा राजमिस्त्रीको काम गर्दै आएको परिवारले जनाएको छ । मृतकका बुवा रामप्रताप महतोले सोमबार राति छोरा अनिलसँगै खाना खाएर सुत्न गएको जानकारी दिए । मंगलबार बिहान उठ्दा उसको कोठाको ढोका खुल्लै थियो,’ बुवा महतोले भने, ‘धेरै समयसम्म पनि घर नफर्किएपछि खोजी गर्यौं र प्रहरीमा निवेदन दिएका थियौं ।’
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको थियो । पोस्टमार्टम भए पनि निष्पक्ष र न्यायिक छानबिनको माग गर्दै परिवारले शव बुझ्न अस्वीकार गरेको छ ।
अनिलको बुधबार नै बिहेको छेका तय हुने कार्यक्रम रहेको थियो । विवाहको तयारी भइरहेका बेला अचानक घटेको घटनाले परिवार र गाउँ शोकमा डुबेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया