सुनील थापाको निधनले अपूरणीय क्षति : हरिवंश आचार्य

सुनील थापाको निधनले अपूरणीय क्षति : हरिवंश आचार्य



काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले अभिनेता सुनील थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालको कला र खेलकुद दुबै क्षेत्रका लागि ठूलो क्षति भएको बताएका छन् ।

अभिनय यात्रा सुरु गर्नुअघि थापा फुटबल खेलाडी भएको आचार्यले बताए ।

चलचित्र विकास बोर्डमा आयोजित श्रद्धाञ्जलीसभामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आचार्यले थापाको बहुआयामिक व्यक्तित्व र अन्तर्राष्ट्रिय ख्यातीको चर्चा गरे ।

“नेपालको प्रतिनिधित्व गरेर संसारभर नै नेपालको आर्टिस्टको छाप छोड्नुभएको थियो,” आचार्यले भने, “उहाँ नेपालमा मात्र होइन बलिउडमा, इभन हलिउडका साथै नेटफ्लिक्सहरूमा उहाँको सिनेमाहरू हेर्दाखेरि यो नेपालको मान्छे हो भनेर गर्व गर्ने ठाउँ थियो हाम्रो ।”

आचार्यका अनुसार सुनील थापाले नेपाली कलाकारको पहिचानलाई बलिउड, हलिउड र नेटफ्लिक्सजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

थापाका फिल्महरू हेर्दा यो नेपाली मान्छे हो भनी गर्व गर्ने अवसर मिलेको स्मरण गर्दै आचार्यले उनको अन्तर्राष्ट्रिय छापको उच्च प्रशंसा गरे ।

भारतीयहरूका अगाडि गर्वले सुनील थापा हाम्रो मान्छे हो भनेर परिचय दिने गरेको स्मरण गर्दै आचार्यले त्यो सबै इतिहास भएको बताए ।

“सम्पूर्ण क्षेत्रमा ठूलो क्षति भएको छ । र, हामीले सुनील थापा हाम्रो मान्छे भनेर भारतीय मित्रहरूलाई भेट्दाखेरि पनि हामीले भन्ने अवसर पाउँथ्यौँ । त्यो सबै अब इतिहास भयो नेपाली चलचित्रको लागि,” आचार्यले भने ।

आफूले थापासँग ‘तँ त साह्रै बिग्रिस नि बद्री’ र ‘जे भो राम्रै भो’ जस्ता लोकप्रिय चलचित्रमा सँगै काम गर्ने अवसर पाएको आचार्यले बताए । थापाको उत्कृष्ट अभिनय र सहयोगले ती चलचित्रहरूलाई सफल बनाउन ठूलो योगदान पुर्‍याएको उनको भनाइ छ ।

“मैले उहाँसँग दुईवटा चलचित्रमा सँगै काम गर्ने अवसर पाएको थिएँ । एउटा तँ त साह्रै बिग्रिस नि बद्री, अर्को जे भो राम्रै भो भनेर,” आचार्यले भने, “उहाँले हाम्रो चलचित्रमा काम गरिदिएर हाम्रो चलचित्रलाई नै एउटा राम्रो चलचित्र बनाउन ठूलो योगदान दिनुभयो ।”

थापा कहिल्यै कसैलाई दुःख नदिने अत्यन्तै सरल र भद्र स्वभावको व्यक्ति भएको आचार्यको भनाइ छ । “कहिले पनि कुनै पनि मान्छेलाई कहिले पनि दुःख नदिने प्रवृत्तिको मान्छे हुनुहुन्थ्यो उहाँ,” आचार्यले भने ।