एनआरएनए अध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी घोषणा

एनआरएनए अध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी घोषणा


ग्लोब नेपाल
135
Shares

लण्डन । गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा डा. हेमराज शर्माले उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । डा. शर्माले एनआरएनएको रिब्राण्डिङ्ग लागि १३बुँदे रोडम्यापसहित नेपाली डायस्पोराको साझा शक्तिशाली संस्था बनाउने परिकल्पना गर्दै आइतबार भर्चुअल कार्यक्रम मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वको लागि आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा १२औं महाधिवेशनमार्फत निर्वाचन हुने कार्यतालिका तय गरिएको छ । बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिक शास्त्रका प्राध्यापक डा. शर्माले विगतमाभन्दा फरक पृष्ठभूमिको नेतृत्वलाई हेरौं भन्दै आसन्न १२औं महाधिवेशनमार्फत अध्यक्ष पदमा निर्वाचित भई फरक र नवीन दृष्टिकोणसहित एनआरएनएको रिब्रान्डिङ गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि संस्थामा सक्रिय डा. शर्माले संघको अभियानकै परिणामस्वरूप नेपाल सरकारले गैरआवासीय नेपाली सम्बन्धी ऐन, नागरिकता, लगानी, आप्रवासी श्रमिकसँग सम्बन्धित सामाजिक सुरक्षालगायत महत्त्वपूर्ण मुद्दाहरू सम्बोधन गरेको बताए ।

संघका करिब ५० भन्दा बढी राष्ट्रिय समितिहरुलाई साक्षी राखेर आफ्नो उम्मेदवारी घोषणा गर्दै डा. शर्माले संस्थापनाकालको दांजोमा प्रविधिको तीव्र छलाङ, देशको बदलिएको राजनीतिक परिदृश्य, विश्व अर्थतन्त्रको रूपान्तरण, दोस्रो पुस्ताका एनआरएनहरूको बढ्दो संख्या र उनीहरूको नेपालप्रतिको संभावित दूरी, साथै नयाँ गन्तव्य देशमा जाने नेपालीहरूको निरन्तर वृद्धिले आफूहरुलाई नितान्त फरक परिस्थितिमा ल्याएको बताए ।

उनले गैरआवासीय नेपाली संघको वर्तमान चुनौतीहरूलाई आत्मसात गर्दै आगामी कार्यकालका लागि एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद्को अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेको बताए । आफ्नो १३ बुँदे घोषणापत्रमार्फत एकीकृत, समावेशी, प्रविधियुक्त, परिणाममुखी, दिगो, गतिशील, उत्तरदायी, पारदर्शी र निष्ठावान एनआरएनए, बहुआयामिक ज्ञान, सीप, एनआरएनका लागि एनआरएन, नेपाल सरकारको भरपर्दो साझेदार र नव प्रवर्तनका लागि एनआरएनए बनाउने उनले प्रतिबद्धता जनाए ।