चर्च ब्वाइज बुढासुब्बा गोल्डकपको फाइनलमा

चर्च ब्वाइज बुढासुब्बा गोल्डकपको फाइनलमा



धरान । चर्च ब्वाइज २६औँ बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा झापा ११ टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित भयो ।

बिहीबार धरान रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल निर्णय टाइब्रेकरमा पुग्यो ।

टाइब्रेकरमा चर्च ब्वाइजका गोलरक्षक प्रमिजय गच्छदार नायक बने । उनले झापाका रोहन थापा मगर, राजेश दाहाल र गौरभ धिमालका प्रहार रोक्दै आफ्नो टोलीलाई फाइनलमा पुर्‍याए ।

झापाका लागि प्रसान्त लक्सम गोल गर्न सफल भए ।

खेलको पहिलो हाफमा चर्च ब्वाइजले २–१ को अग्रता लिएको थियो । खेलको ३ मिनेटमा मिलन राई र १७औँ मिनेटमा यभियामी फुकुनेले गोल गरे ।

झापाका लागि अभिषेक लामाको आत्मघाती गोलले पहिलो हाफ २–१ मा सकियो । दोस्रो हाफमा ६१औँ मिनेटमा आरोन थापा मगरले फ्रि किक मार्फत गोल गर्दै खेललाई २–२ बराबरीमा ल्याए ।

चर्च ब्वाइजका लागि टाइब्रेकरमा एरिक विष्ट, रोहन कार्की र सुदिप श्रेष्ठले गोल गरे । उत्कृष्ट प्रदर्शन गर्दै तीन प्रहार रोकेका प्रमिजय गच्छदार म्यान अफ दि म्याच घोषित भएर नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

शनिबार हुने फाइनल खेल चर्च ब्वाइज क्लब काठमाडौं र प्लानिङ ब्वाइज युनाइटेड काठमाडौंबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन ।