भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण भव्य बनाउने तयारी

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण भव्य बनाउने तयारी


ग्लोब नेपाल
0
Shares

लुम्बिनी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणलाई भव्य बनाउन लुम्बिनीमा व्यापक तयारी थालिएको छ । २५६६ औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस, २०७९ का अवसरमा आगामी जेठ २ गते भारतीय प्रधानमन्त्री मोदी बुद्ध जन्मस्थल लुम्बिनी आउने कार्यक्रम तय भएको छ ।

भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते भारतको सारनाथबाट हेलिकप्टरमा लुम्बिनी आउने कार्यक्रम छ । उनी लुम्बिनी बिहानको करिब ११ बजे आइपुग्ने लुम्बिनी विकास कोषले जनाएको छ । भारतीय प्रधानमन्त्री चढेको हेलिकप्टर र त्यससँगै आउने अन्य हेलिकप्टर अवतरणका लागि लुम्बिनीमा गुरुयोजनाअन्तर्गत अहिले धमाधम चार वटा हेलिप्याड निर्माणको काम चलिरहेको छ ।

यस्तै लुम्बिनीका भित्री सडकमा सरसफाइ गरेर सौन्दर्य अभिवृद्धिको कामसमेत धमाधम भइरहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । यसका साथै मायादेवी मन्दिरसँगै रहेको अशोकस्तम्भमा उहाँले दीप प्रज्वलन गर्ने कार्यक्रमसमेत रहेको विकास कोषका सदस्य सचिव शाक्यले जानकारी दिए ।

भारतीय प्रधानमन्त्रीको भ्रमणमा सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपिजी (स्पेशल प्रोटेक्सन गार्ड) बुधबार भारतीय वायुसेनाको विमानबाट लुम्बिनी आइपुगेको छ । यसका साथै भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणका क्रममा सवारीका लागि भारतबाट बुधबार नै चार वटा गाडीसमेत आइपुगेका छन् । ती गाडी विमानबाट नै भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा झारिएको थियो ।

लुम्बिनीमा मायादेवी मन्दिरको पूजा तथा दीप प्रज्वलनपश्चात् यसअघि प्रधानमन्त्री मोदीका तर्फबाट भारतीय राजदूतले रोपेकाे बोधिवृक्षमा जनचेतना गर्ने कार्यक्रम रहेको सदस्य सचिव शाक्यले जानकारी दिए ।

यसैगरी भारत सरकारले अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फरेडेशन (आइबिसी)मार्फत लुम्बिनीमा निर्माण गर्न लागेको बौद्ध विहारको प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरूपमा शिलान्यास गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

लुम्बिनी विकास कोषले कोषको ९ नं गेट हुँदै विहार निर्माणस्थलसम्म पुग्नका लागि करिब ७०० मिटर लामो पक्कीबाटो निर्माण गरिरहेको छ । यसलगत्तै दुवै देशका प्रधानमन्त्रीको होटल पवनमा द्विपक्षीय भेटघाट हुने कार्यक्रम रहेको सदस्य सचिव शाक्यले जानकारी दिए । होटलमा द्विपक्षीय भेटपश्चात् करिब १ बजे २५६६औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस, २०७९ मूल समारोहमा भारतीय प्रधानमन्त्री मोदी उपस्थित हुनुहुने कार्यक्रम रहेको विकास कोषले जनाएको छ ।

सदस्य सचिव शाक्यले यो भ्रमणले लुम्बिनीमा अब विश्वको ध्यान केन्द्रित हुने र भारतीय धार्मिक पर्यटक बढ्ने विश्वास व्यक्त गरे । भारतीय धार्मिक पर्यटक अब लुम्बिनी हुँदै मुक्तिनाथको दर्शनका लागि प्याकेज बनाएर आउने उनकाे भनाइ छ ।

२५६६औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस, २०७९ मूल समारोहलाई प्रधानमन्त्री देउवा र समकक्षी भारतीय प्रधानमन्त्री मोदीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिए ।

उनले भारतीय प्रधानमन्त्रीको यो लुम्बिनी भ्रमण नितान्त सांस्कृतिक भ्रमण रहेकाले यो भ्रमणले दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरे । उनले यो भ्रमणले लुम्बिनी र बुद्धसँग सम्बन्धित विभिन्न भ्रमलाई अन्तर्राष्ट्रियरूपमा चिर्नेसमेत विश्वास व्यक्त गरे ।

बुद्धको विचार सम्पूर्ण एशियामा साझा विचारका रूपमा स्थापित हुँदै गएको अवस्थामा भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको विचारलाई थप बलियो बनाउन प्रचारप्रसार हुने विकास कोषका उपाध्यक्ष भिक्षु मैत्येय बताए ।

उनले भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणपछि लुम्बिनी अब अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित हुने विश्वाससमेत व्यक्त गरे । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन हुने
लुम्बिनीमा निर्माण भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन हुने भएको छ । २५६६औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस, २०७९ का अवसरमा जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको उद्घाटन गर्ने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराज शाक्यले जानकारी दिए ।

उक्त दिन बिहान सभाहलको प्रधानमन्त्री देउवाबाट उद्घाटन भएपछि बुद्धपूर्णिमाको मूल समारोह कार्यक्रम यसै हलमा आयोजना गरिने उनले जानकारी दिए । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको यो सभाहल अत्याधुनिक सुविधासहितको रहेको जनाइएको छ । तीन वर्षमा सम्पन्न गर्ने योजना रहेको सभाहलको कोभिड–१९ का कारण एक वर्ष ढिलो गरी सम्पन्न भएको छ ।

उक्त ध्यान केन्द्र १० मिटर गहिराइका १४० वटा पाइल फाउन्डेसनमा निर्माण गरिएको छ । फाउन्डेसनमाथि ४० वटा पिलर ठड्याएर छानो बनाइएको छ । आठ हजार ३०० वर्गमिटर क्षेत्रमा रहेको सभाहललाई बन्द राख्न चारैतिरबाट चिनियाँ इँटाको पर्खाल लगाइएको छ । हलभित्र पस्न मुख्य तीन वटा सेन्सर ढोका जडान गरिएको छ । उक्त हलको वरिपरि ५२ वटा हाते ढोकासमेत जडान गरिएको छ ।

पाँच हजार जना अटाउने छाता शैलीको हलमा ध्यान केन्द्रको छाना गर्मीमा चिसो र चिसोमा तातो हुने प्रविधिको जडान गरिएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए ।

सभाहललाई चारैतिर पर्खाल लगाइएको छ । पर्खालको भित्रतर्फ बुद्धको विभिन्न आकर्षक प्रतिमा निर्माण गरिएका छन् । योजना प्रमुख भट्टराईका अनुसार ७५० मिटर लम्बाइको कम्पाउण्ड पर्खालको साढे सात-सात मिटर फरकमा ९७ वटा बुद्धमूर्ति राखिएका छन् । उक्त सभाहल निर्माणमा पहिलो चरणमा रु ३३ करोड र दोस्रो चरणमा करिब रु २७ करोड खर्च हुने बताइएको छ ।