काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको समूह ‘ए’ अन्तर्गतको बहुप्रतीक्षित खेलमा भारतले पाकिस्तानलाई ६१ रनले हराएको छ ।
श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा स्टेडियममा हिजो टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनायो ।
भारतका लागि ओपनर इशान किशनले आक्रामक ब्याटिङ गर्दै मात्र ४० बलमा ७७ रनको उत्कृष्ट इनिङ्स खेले ।
उनले आफ्नो इनिङ्समा १० चौका र ३ छक्का प्रहार गरे ।यस्तै, कप्तान सूर्यकुमार यादवले ३२ रन तथा तिलक वर्माले २५ रनको योगदान दिए ।
पाकिस्तानका लागि बलिङतर्फ साइम अयुबले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । १ सय ७६ रनको लक्ष्य पछ्याएको पाकिस्तानको शुरूवात निकै खराब रह्यो ।
भारतीय बलरहरूको बलिङसामु पाकिस्तानका ब्याटरहरू क्रिजमा टिक्न सकेनन् र पूरै टोली १७ ओभर ५ बलमा १ सय १४ रनमै अलआउट भयो ।
भारतलाई जीत दिलाउन जसप्रित बुमराह, वरुण चक्रवर्ती, अक्षर पटेल र हार्दिक पाण्ड्याले समान २–२ विकेट लिए भने कुलदीप यादव र तिलक वर्माले पनि १–१ विकेट लिए ।
७७ रन बनाएका भारतीय ओपनर इशान किशन प्लेयर अफ द म्याच घोषित भए । यस जीतसँगै भारतले प्रतियोगिताको ‘सुपर ८’ चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
यसैगरी, आईसीसी विश्वकपअन्तर्गत हिजै अमेरिकाले नामिबियालाई ३१ रनले पराजित गरेको छ । भारतको चेन्नईमा भएको खेलमा अमेरिकाले दिएको २०० रनको लक्ष्य पछ्याएको नामिबिया ६ विकेट गुमाउदै १६८ रनमा समेटियो ।
यो जितसँगै घरेलु टोली भारतले लगातार तेस्रो जित निकाल्दै समूह ‘ए’ बाट विश्वकपको सुपर–८ प्रवेश गरेको छ ।
विश्वकपअन्तर्गत आज बिहान सवा ११ बजे दिल्लीमा समूह ‘डी’ का अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) खेल्नेछन् । दिउँसो सवा ३ बजे श्रीलंकाको इडन गार्डेन्स मैदानमा इंग्ल्याण्ड र इटाली तथा बेलुकी सवा ७ बजे पल्लेकेले मैदानमा अष्ट्रेलिया र श्रीलंका खेल्नेछन् ।


प्रतिक्रिया