कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं आगामी नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका डा. हेमराज शर्माले संस्थाको एकतालाई सार्थक निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. शर्माले आफू तीनटा सन्देश बोकेर हिँडेको र लामो उतारचढावबीच संस्थामा बनेको एकताको वातावरणमा पहिलो एकताको सन्देश लिएर आएको बताए । दोस्रो मार्चा १४ देखि १६ तारिखमा हुन लागेको अधिवेशन तयारी र सूचना आदानप्रदान र तेस्रो मध्यपूर्वका देशका गैरआवासीय नेपालीको कुरा सुन्ने र निर्वाचित भएर आइसकेपछि कार्ययोजना बनाउन सहज हुने उनले सुनाए । शर्माले बहराइन र साउदी हुँदै कतारसम्म आइपुग्दा मध्यपूर्वका धेरै समस्याबारे सिक्न पाइएको बताए ।
८० लाख प्रवासी नेपालीमा एक लाखमात्रै सदस्य हुने अवस्था किन आयो, पैसा पावरको दुरुपयोग, प्रभावकारिता, विभाजनजस्ता दुखद पक्षले संस्थालाई नकारात्मक प्रभाव परेको, राज्यले मुद्दामा पत्याउन छोडेको भन्दै यहाँ सुध्रिनुपर्छ र एक बनाएर जानुपर्छ भनेर दुबै अध्यक्षले एकताको अधिवेशन गर्ने सहमति भएको सुनाए । एकतालाई सार्थक स्थितिमा पुर्याउन सबैको कर्तव्य भएको उनको भनाइ छ । उनले अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियाबाट अगाडि बढे संस्थामा समस्या नआउनेमा जोड दिए । एनआरएनएको अध्यक्ष बन्न दलहरुको आर्शिवाद लिने परम्परा बदल्नुपर्नेमा उनले जोड दिए ।
उनले एनआरएनएको स्रोतलाई पासपोर्टको शिविरलगायत यहाँका समस्यामा लगाउनुपर्ने कुरामा केन्द्रित हुनुपर्ने उनको भनाइ छ । वैदेशिक रोजगारीमा आउने नेपाली श्रमिकका लागि सरकारले बनाएको कोषलाई सहज परिचालनका लागि नीति नियम बदल्न पहल थाल्नुपर्नेमा उनले जोड दिए ।
नेपालबाहिर बस्ने नेपाली नागरिकलाई मतदानको अधिकारका लागि सशक्तरुपमा लड्ने प्रतिबद्धता उनले जनाए ।
कार्यक्रममा एनआरएनए महिला उपाध्यक्ष रोजिना प्रधान राई, युरोप संयोजक चिरञ्जीवी खड्का, मध्यपूर्व संयोजक राजेन्द्र अर्याल, कतारका अध्यक्ष पदम गिरी, आइसीसी सल्लाहकार कमलमणी गुरागाई, पूर्वअध्यक्ष मोहम्मद मुफ्तफा, एनआरएनएका पूर्वअध्यक्ष डा. प्रेमकाजी दंगाल, पूर्वउपाध्यक्ष सागर नेपाल, आइसीसी सदस्य तेज कटवाल, एनआरएन अभियन्ता चानक पोखरेललगायत सहभागी थिए ।


प्रतिक्रिया