भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका चुनावको बेला ३ दिन बन्द हुने

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका चुनावको बेला ३ दिन बन्द हुने



बैतडी । प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित सम्पन्न गर्न भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाका तीन दिनका लागि बन्द गरिने भएको छ ।

भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका यही फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहने प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मतदान हुनुभन्दा ७२ घण्टा अगाडिदेखि नाका बन्द गर्ने निर्णय गरिएको हो । बैतडीको झन्डै ३१ किलोमिटर क्षेत्र भारतसँग जोडिएकाले त्यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको छ । अत्यावश्यक अवस्थामा भने दुवै देशबीचको आपसी समन्वयमा नाका खोल्न सकिने व्यवस्था छ ।

यस्तै, भारतसँग सीमा जोडिएको कञ्चनपुरका सवै सीमा नाका पनि यो अवधिमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले यही फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सबै सीमा नाका बन्द रहने जानकारी दिए ।

त्यसैगरी, फागुन २० गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म एम्बुलेन्स, दमकल, ट्राफिक, दूरसञ्चार, अस्पताल सेवा, विद्युत् सेवा, शववाहन तथा कूटनीतिक नियोग र अनुमति प्राप्त गाडीबाहेक अन्य सबै गाडीहरु सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ ।