काठमाडौं । आकर्षक रोजगारीको प्रलोभन देखाई नेपालीहरुलाई दक्षिण–पूर्वी एशियाका विभिन्न देशमा लगेर अनलाइन ठगीको धन्दामा फसाउने क्रम भयवह रूपमा बढ्दै गएको छ ।
थाइल्याण्ड, म्यानमार, लाओस र कम्बोडियाका स्क्यामिङ केन्द्रहरूबाट अहिलेसम्म तीन सय ९२ जनाको उद्धार गरी स्वदेश फर्काएको परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीले जानकारी दिए ।
उहाँका अनुसार अझै तीन सय नौ जना उद्धार प्रक्रियामा रहेका छन् भने कम्बोडियामा मात्रै २ सय ४८ जना पर्खाइमा छन् । संयुक्त अरब इमिरेट्स र मलेसियामा लामो समयदेखि कार्यरत कम्प्युटर ज्ञान भएका नेपालीहरू यस्ता गिरोहको मुख्य निशानामा पर्ने गरेका छन् । उनीहरूलाई अनलाइन बेटिङ, क्यासिनो, गेमिङ र क्रिप्टो ठगीजस्ता गतिविधिमा संलग्न गराएको पाइन्छ ।
तोकिएको कार्यलक्ष्य पूरा गर्न नसकेमा शारीरिक तथा मानसिक यातना दिने, राहदानी खोसेर बन्धक बनाउने र अर्को व्यक्ति नआएसम्म छुटकारा नदिने गरेको मन्त्रालयमा प्राप्त उजुरीहरूमा उल्लेख छ । गैरकानूनी रूपमा म्यानमार प्रवेश गरेका १८ जना नेपालीलाई त्यहाँको अदालतले एक वर्षको जेल सजाय सुनाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार सन् २०२२ यता उद्धारको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । अझै कति नेपाली यी देशहरूमा फसेका छन् भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन । धेरैजसो पीडित आफ्नै गाउँघरका चिनजानका व्यक्तिको फकाइमा परी स्क्यामिङ केन्द्रसम्म पुग्ने गरेको भन्दै सरकारले युवाहरूलाई विशेष सचेत रहन आग्रह गरेको छ ।


प्रतिक्रिया