धनुषा-३ मा प्रसूति अस्पताल, रङ्गशाला र मल कारखाना बनाउने विमलेन्द्र निधिको प्रतिबद्धता

धनुषा-३ मा प्रसूति अस्पताल, रङ्गशाला र मल कारखाना बनाउने विमलेन्द्र निधिको प्रतिबद्धता


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार विमलेन्द्र निधीले आफ्नो क्षेत्रको विकासका लागि स्वास्थ्य, कृषि र खेलकुदलाई मुख्य प्राथमिकतामा राखेर योजनाहरू सार्वजनिक गरेका छन् ।

चुनावी अभियानका क्रममा बोल्दै नेता निधीले जनकपुर उपमहानगरपालिका बाहेकका अन्य तीन वटा पालिकाहरूमा महिला तथा बालबालिकाका लागि विशेष स्वास्थ्य सेवा विस्तार गर्ने घोषणा गरे ।

जनकपुरमा धेरै अस्पतालहरू खुलेका तर जनकपुर भन्दा दक्षिणका तीन वटा पालिकाहरूमा आफूले तीन वटा प्रसूति र तीन वटा बाल अस्पताल निर्माण गर्न चाहेको बताए । मधेस प्रदेश कृषि प्रधान क्षेत्र भएपनि किसानले सधैँ मलको अभाव झेल्नुपरेको उल्लेख गर्दै निधीले नेपालमै मल कारखाना खोल्ने प्रतिबद्धता व्यक्त गरे ।

उनकाअनुसार यसबाट किसानले समयमै मल पाउने मात्र नभई स्थानीय युवाहरूले ठुलो संख्यामा रोजगारी समेत प्राप्त गर्नेछन् । जनकपुरमा ‘राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला’ निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिँदै उनले यसलाई ‘स्पोट्र्स इकोनोमी’ (खेलकुद अर्थतन्त्र) सँग जोडे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १०० करोड अनुदानलाई यसै रङ्गशालामा खर्च गर्नेगरी समन्वय भइरहेको र जग्गाको लालपूर्जा समेत बनिसकेको उनले बताए । ऐतिहासिक धनुषाधामलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटकीय स्थल बनाउने योजना पनि निधिले अघि सारेका छन् ।