कांग्रेसलाई भारी बहुमतले विजयी गराऔँ: पूर्णबहादुर खड्का

कांग्रेसलाई भारी बहुमतले विजयी गराऔँ: पूर्णबहादुर खड्का


ग्लोब नेपाल
486
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई विजयी गराउन आम मतदातासमक्ष विशेष अपिल गरेका छन् । केही समयदेखि चुनावी प्रचारप्रसारमा प्रत्यक्ष नदेखिएका खड्काले आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।

अपिलमा नेता खड्काले फागुन २१ गते बिहान ७ बजेदेखि हुने मतदानमा सातै प्रदेशका मतदाताहरूलाई उत्साहपूर्वक सहभागी हुन अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फका मतपत्रमा नेपाली कांग्रेसको ऐतिहासिक चुनाव चिन्ह ‘रुख’ मा स्वस्तिक छाप लगाई पार्टीलाई भारी बहुमतका साथ विजयी गराउन हृदयदेखि नै विनम्र अनुरोध गर्दछु ।’

खड्काले आसन्न निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्नु सबैको साझा दायित्व भएको समेत उल्लेख गरेका छन् । पार्टीभित्रको आन्तरिक समीकरण र विशेष महाधिवेशनपछिको विवादका कारण केही समयदेखि रक्षात्मक देखिएका खड्काको यो सक्रियतालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । गत पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि कांग्रेसभित्र स्पष्ट दुई धार देखिएको छ । तत्कालीन सभापति शेरबहादुर देउवा समूहले उक्त महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको अवस्था छ ।

पार्टीको संस्थापन र इतर समूहबीचको खिचातानीका कारण निवर्तमान सभापति देउवा र खड्कासहितका शीर्ष नेताहरू अहिलेसम्म चुनावी अभियानमा सक्रिय भएका थिएनन् । जटिल राजनीतिक पृष्ठभूमि र कानुनी लडाइँ जारी रहेकै समयमा नेता खड्काले पार्टीको आधिकारिक चुनाव चिन्हमा मतदान गर्न गरेको आह्वानले कांग्रेसका कार्यकर्ताहरूमा नयाँ सन्देश प्रवाह गरेको छ ।