चितवन । प्रतिनिधिसभा निर्वाचनमा उमेदवारी दर्ता गराएका मध्ये २१ जनाले मात्र बैंक खाता खोलेका छन् । बैंक खाता खोल्नका लागि ३९ उमेदवारले सिफारिस लिएका थिए ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार, जिल्लामा ६४ जना उम्मेदवार छन् । सबै उमेदवारलाई टेलिफोन गरी खाता खोल्न आग्रह गरिएको उनले जानकारी दिए ।
उनले भने, “कतिपय उमेदवारले त हामी खर्च नै गर्दैनौँ, किन खाता खोल्ने भन्नुहुन्छ ।” कतिपयले भने खाता खोल्ने प्रक्रियामा नै रहेको जवाफ दिएको उनले जानकारी दिए ।
कार्कीका अनुसार, आसन्न निर्वाचनका लागि बैंकिङ खाता अनिवार्य गरिएसँगै यसका बारेमा बुझ्न र सिफारिसका लागि आवश्यक प्रक्रियाबारे जानकारी लिन उमेदवार र उमेदवारका प्रतिनिधिहरू कार्यालय भने आएका छन् ।
“बैंकिङ खाता खोल्ने विषयमा जानकारी लिन आउनुभएको छ, तर खाता खोल्न अझै धेरैको बाँकी छ,” उनले भने ।
निर्वाचन आयोगले राजनीतिक दल एवं उम्मेदवारबाट हुने निर्वाचन प्रचारप्रसारका लागि प्राप्त हुने स्वैच्छिक आर्थिक सहयोगको रकम र त्यसको प्रचारप्रसारका लागि गर्ने खर्चलाई मितव्ययी, पारदर्शी बनाइ निर्वाचनमा सुशासन कायम गर्न बैंकिङ खाता खोल्नुपर्ने प्रावधान ल्याएको हो ।
यस्तै जिल्लामा रहेका १२ उमेदवारले आफ्नो घोषणापत्र आयोगमा बुझाएका छन् । कार्कीका अनुसार तीनजना स्वतन्त्र उम्मेदवार र नौजना राजनीतिक दलका उमेदवारले आफ्नो घोषणापत्र बुझाएका हुन् ।
आयोगले फागुन ३ गतेसम्म उम्मेदवारले आफ्नो घोषणापत्र आयोगमा बुझाउन आग्रह गरेको थियो ।


प्रतिक्रिया