होलीको शुभकामना दिँदै सभापति थापाले मागे लोकतन्त्रका लागि भोट

होलीको शुभकामना दिँदै सभापति थापाले मागे लोकतन्त्रका लागि भोट


ग्लोब नेपाल
270
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको पर्व फागु पूर्णिमा ९होली० को शुभकामना व्यक्त गर्दै आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आम नागरिकलाई अपिल गरेका छन् । सोमबार शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन मतदानको महत्त्वमाथि जोड दिएका हुन् ।

सभापति थापाले नेपालको भौगोलिक, भाषिक, धार्मिक र सांस्कृतिक विविधता नै राष्ट्रको असली पहिचान भएको उल्लेख गरेका छन् । फागु पूर्णिमालाई आपसी प्रेम, सद्भाव र एकताको प्रतिकका रूपमा चित्रण गर्दै उनले यो पर्वले नेपाली समाजलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । ‘हाम्रो संस्कृति र कलाको विविधताले नै विश्व मानचित्रमा नेपाललाई विशिष्ट बनाएको छ,’ उनको सन्देशमा भनिएको छ ।

यस वर्षको होली पर्वसँगै प्रतिनिधि सभाको निर्वाचन पनि नजिकिएकाले यसलाई लोकतन्त्रको महत्वपूर्ण अवसरका रूपमा लिन उनले आग्रह गरे । फागुन २१ गते हुने निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्नु नागरिकको कर्तव्य र अधिकार दुवै भएको उल्लेख गर्दै थापाले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र उत्साहजनक वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

लोकतन्त्रको सुदृढीकरण र समुन्नत राष्ट्र निर्माणको महाअभियानमा हरेक नेपालीको मत निर्णायक हुने भन्दै उनले निर्वाचनमा उत्साहपूर्वक होमिन आह्वान गरेका छन् ।