देशभरका मतदान केन्द्रमा खटिए हजारौँ कर्मचारी र सुरक्षाकर्मी

देशभरका मतदान केन्द्रमा खटिए हजारौँ कर्मचारी र सुरक्षाकर्मी


ग्लोब नेपाल
405
Shares

काठमाडौं । यही २१ गते हुने निर्वाचनका लागि देशभरका मतदान केन्द्रहरूमा कर्मचारी र सुरक्षाकर्मीको टोली परिचालन हुन थालेका छन् । निर्वाचन आयोगले सोमबार अपराह्नसम्म मतदानमा खटिने सम्पूर्ण जनशक्तिलाई आ-आफ्नो केन्द्रमा पुग्न परिपत्र गरेको छ ।

विकट तथा दुर्गम भेगका मतदान केन्द्रहरूमा सुरक्षाकर्मीसहितको टोली केही दिनअघि नै प्रस्थान गरिसकेको छ । यातायातको पहुँच भएका सुगम स्थानहरूमा भने सोमबार साँझसम्म अनिवार्य रूपमा पुगेर तयारी थाल्न आयोगले निर्देशन दिएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार बेलुकीसम्म सबै क्षेत्रका मतदान केन्द्रमा टोली पुगिसक्नुपर्ने जानकारी दिए । उनले भने, ‘निर्वाचन सामग्रीसहित केन्द्रमा पुग्ने टोलीले सोमबार नै केही महत्त्वपूर्ण प्रशासनिक कामहरू सम्पन्न गर्नुपर्ने हुन्छ ।’

प्रवक्ता भट्टराईका अनुसार सोमबार अपराह्नसम्म मतदान केन्द्रको चारकिल्ला तोकेर सूचना टाँस्नुपर्नेछ । मतदान केन्द्रको परिधि र निषेधित क्षेत्रबारे सर्वसाधारणलाई जानकारी दिन स्पष्ट देखिने गरी सूचना सार्वजनिक गरिनेछ । देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट सुरक्षाकर्मीको उपस्थितिमा मतदान अधिकृतहरूले मतपत्र लगायतका सामग्री बुझ्ने क्रम जारी छ । निर्वाचन सम्पन्न नहुञ्जेल सुरक्षाकर्मी र कर्मचारीको टोली सँगै रहनुपर्ने व्यवस्था गरिएको छ ।

आयोगको रिपोर्टअनुसार आइतबारसम्म सुदूरपश्चिम र कर्णालीका सडक सुविधा नभएका करिब ३ सय विकट मतदान केन्द्रहरूमा कर्मचारी पुगिसकेका छन् । शहरी र तराईका क्षेत्रमा भने सोमबार अपराह्नसम्म टोली पुग्ने क्रम जारी रहनेछ । मतदान अधिकृतको जिम्मामा रहने मतपत्र र अन्य सिलबन्दी सामग्रीको सुरक्षाको पूर्ण जिम्मेवारी नेपाल प्रहरीलाई दिइएको छ । निर्वाचन आयोग र प्रहरी प्रधान कार्यालयले सुरक्षाकर्मीलाई मतदान अधिकृत र निर्वाचन सामग्रीको २४ सै घण्टा निगरानी गर्न र साथ नछाड्न कडा निर्देशन दिएका छन् ।

कार्यविधिअनुसार प्रत्येक वडामा कम्तीमा एउटा मतदान केन्द्र रहनेछ । मतदाताको सहजताका लागि आवश्यकताअनुसार थप केन्द्रको व्यवस्था समेत गरिएको छ । एउटा मतदान केन्द्रमा बढीमा एक हजार मतदाता रहने प्रावधान छ । धेरै मतदाता भएको स्थलमा क, ख, ग गरी छुट्टाछुट्टै केन्द्र तोकिए पनि एउटै स्थलमा ७ वटाभन्दा बढी केन्द्र राख्न पाइने छैन । मतदान केन्द्रमा पुगेलगत्तै अधिकृतले सर्वपक्षीय बैठक आह्वान गर्ने र निर्वाचन प्रचारप्रसार निषेध गरिएको सूचना जारी गर्नेछन् । त्यसपछि मतदान केन्द्र निर्माण गर्ने र निर्वाचन अवधिभर विभिन्न चरणमा सर्वपक्षीय बैठक गरी मुचुल्का तयार पार्ने काम उनीहरूले गर्नेछन् ।

मतदान सम्पन्न भएपछि राजनीतिक दलका प्रतिनिधिको रोहवरमा मतपेटिका सिलबन्दी गरी मुचुल्का तयार पारिनेछ । त्यसपछि ती सामग्री निर्वाचन अधिकृतको कार्यालयमा बुझाएपछि मात्र खटिएका कर्मचारी र सुरक्षाकर्मीको जिम्मेवारी पूरा हुने प्रवक्ता भट्टराईले बताए । उनले भने, ‘मतदान सामग्री बुझाएपछि मात्रै उनीहरूको ड्युटी समाप्त हुनेछ ।’