शेयर बजार उच्च अङ्कले बढेर २ हजार ७ सय विन्दुमाथि

शेयर बजार उच्च अङ्कले बढेर २ हजार ७ सय विन्दुमाथि



काठमाडौं । चुनावअघिको अन्तिम कारोबार दिन आज शेयर बजार उच्च अङ्कले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ३८ दशमलव ५२ अङ्कले बढेर दुई हजार सात सय १२ दशमलव ४९ अङ्कमा पुगेको छ ।

भोलिदेखि चुनावको बिदा शुरू हुने भएकोले आज चुनावअघिको अन्तिम कारोबार दिन हो । अब शेयर बजार आउँदो २५ गते सोमवार मात्रै खुल्नेछ ।

आज व्यापारबाहेक सबै समूहको शेयर बढेकामा जलविद्युत् समूहको शेयर दुई प्रतिशतभन्दा धेरैले बढेको छ । आज सालपा विकास बैंककाे शेयर १० प्रतिशतले बढेकाे छ । समग्रमा बजार बढेको दिन शुभम् पावर लिमिटेडको शेयर भने साढे दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अस्ति आइतवार पाँच अर्ब ६४ करोडकाे कारोबार भएकोमा आज तीन सय २९ वटा कम्पनीका एक करोड ५१ लाख कित्ता शेयर ६ अर्ब २३ करोड रुपैयाँमा किनबेच भएको छ ।