काठमाडौं । राज्यका संवैधानिक र प्रशासनिक मुटुमै प्रहार भएको भदौ २४ गतेको हिंसात्मक घटनामा संलग्न १३ जनाविरुद्ध अन्ततः मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सर्वोच्च अदालत, सिंहदरबार तथा विभिन्न प्रहरी कार्यालयमा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा उनीहरूविरुद्ध मंगलवार काठमाडौं जिल्ला अदालतमा आपराधिक उपद्रव र डाँकासम्बन्धी कसुरमा अभियोग दायर गरेको हो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक अधिकारीका अनुसार, अनुसन्धान प्रतिवेदनका आधारमा अभियोगपत्र दर्ता गरिएको हो । घटनालाई राज्यका प्रमुख संस्थामाथिको संगठित आक्रमणका रूपमा व्याख्या गर्दै अभियोजन पक्षले कडा सजाय माग गरेको छ ।
अभियोगपत्र अनुसार सर्वोच्च अदालत भवनमा आगजनी गरी ठूलो क्षति पुर्याएकाे अभियोगमा सुनिल श्रेष्ठ, ज्योति थापा, विनोदकुमार थापा मगर, कुमार पराजुली र राजु परियारविरुद्ध मुद्दा दर्ता गरिएको छ । उनीहरूले संयुक्त रूपमा सर्वोच्च अदालतमा आगजनी गरी १ अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपियाँ बराबरको क्षति पुर्याएकाे दाबी गरिएको छ ।
केन्द्रीय प्रशासनिक निकाय सिंहदरबारमा तोडफोड तथा आगजनी गरेको अभियोगमा आशिष गुरुङविरुद्ध मुद्दा दर्ता भएको छ । सिंहदरबार देशको प्रशासनिक निर्णय प्रक्रियाको केन्द्र भएकाले यसमाथिको आक्रमणलाई राज्य संयन्त्र कमजोर पार्ने प्रयासका रूपमा हेरिएको छ ।
त्यस्तै, प्रहरी वृत्त बौद्धमा आगजनी गरेको आरोपमा समीर श्रेष्ठ र सुनिल तामाङविरुद्ध अभियोग दायर गरिएको छ । प्रहरी प्रभाग बलम्बुमा तोडफोड गरेको आरोपमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्का र छत्रबहादुर विकविरुद्ध पनि मुद्दा चलाइएको छ ।


प्रतिक्रिया