कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानको क्षेप्यास्त्र प्रहार

कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानको क्षेप्यास्त्र प्रहार



दोहा । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरेको कतारको रक्षा मन्त्रालयले त्यसको पुष्टि गरेको छ । कतारको राजधानी दोहाको दक्षिण पश्चिममा अवस्थित अल–उदैद एयर बेस मध्यपूर्वस्थित अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा हो ।

कतारको रक्षा मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘इरानबाट मंगलबार राति प्रहार गरिएका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रले कतारलाई निशाना बनाईएको छ । तीमध्ये एउटा क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले रोकेको र अर्को राजधानी दोहाको दक्षिणपश्चिममा अवस्थित अल उदैद सैन्य अड्डामा खसेको छ ।’

त्यसबाट मानवीय क्षति नभएको मन्त्रालयले जनाएको छ । तर भौतिक क्षति पुगेको छ कि छैन भन्नेबारे वक्तव्यमा उल्लेख छैन ।
कतारी सशस्त्र बलसँग देशको सार्वभौमसत्ता र भू–भागको सुरक्षा सुनिश्चित गर्ने पूर्ण क्षमता रहेको र कुनै पनि बाह्य खतराप्रति कडा जवाफ दिन तयार रहेको पनि मन्त्रालयले जनाएको छ ।

यसैबीच मन्त्रालयले नागरिक, बसोबास गर्ने विदेशी तथा आगन्तुकलाई शान्त रहन, आधिकारिक निर्देशन पालना गर्न र हल्लाको सट्टा प्रमाणित सूचनामा भर पर्न आग्रह गरेको छ ।