निर्वाचनका लागि काठमाडौँबाट गाउँ फर्किने यात्रुको चाप

निर्वाचनका लागि काठमाडौँबाट गाउँ फर्किने यात्रुको चाप


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्नका लागि राजधानी काठमाडौँबाट आफ्नो गृह जिल्ला फर्किनेहरूको आज चाप रहेको छ। काठमाडौँका बसपार्कहरूमा यात्रुहरूको बाक्लो भीड देख्न सकिन्छ ।

रोजगारी, अध्ययन र अन्य विभिन्न सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका मतदाताहरू आफ्नो मताधिकार प्रयोग गर्न गाउँ फर्किन थालेका हुन् । भोलि सार्वजनिक यातायात नचल्ने भएकाले आजै मतदानका लागि गाउँ फर्किनुपर्ने बाध्यता रहेको छ ।

सोही कारण नयाँ बसपार्क (गोंगबु), कलंकी, कोटेश्वर र बल्खु लगायतका स्थानमा बिहानैदेखि यात्रुहरूको घुइँचो लागेको हो । यातायात व्यवसायीहरुकाअनुसार पछिल्लो केही दिनयता उपत्यका बाहिरिने यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

यात्रुको चापलाई मध्यनजर गर्दै यातायात व्यवसायी समितिहरूले थप बसहरूको व्यवस्थापन गर्ने प्रयास गरिरहेको बताएका छन् । यद्यपि, मागको तुलनामा सवारी साधन अपुग हुँदा कतिपय यात्रुहरूले महँगो भाडा तिरेर वा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको अवस्था पनि छ ।

ट्राफिक प्रहरीले पनि उपत्यका बाहिरिने नाकाहरूमा सुरक्षा जाँच कडा पारेको छ भने यात्रुहरूको सहजताका लागि विभिन्न स्थानमा नागरिक सहायता कक्षहरू स्थापना गरेको छ ।

क्षमताभन्दा बढी यात्रु बोक्ने र तोकिएभन्दा बढी भाडा असुल्ने सवारी साधनलाई कारबाही गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चेतावनी दिएको छ ।