काठमाडौं । खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म झन्डै १६ हजार नेपालीहरूले आफ्नो विवरण दर्ता गराएका छन् ।
परराष्ट्र मन्त्रालयले आपतकालीन उद्धार टोली समेत गठन गरेको छ । यसका लागि २४ सै आकस्मिक कन्ट्रोल कक्ष सञ्चालन, विमानस्थलमा ट्रान्जिटमा रहेकाहरूको व्यवस्थापन, भिसा सहजीकरण, तथा कामदारहरूको सुरक्षासम्बन्धी समन्वयका काम हुनेछन् ।
सरकारले खाडी देश तथा पश्चिम एशिया क्षेत्रमा झन्डै १८ लाख नेपालीको सुरक्षा, संरक्षण र हितप्रति पूर्ण संवेदनशीलता र प्रतिबद्धता व्यक्त गर्दै सबैलाई आधिकारिक सूचनामा मात्रै विश्वास गर्न र आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।
अमेरिका र इजरायलले इरानमाथि गएको शनिवार गरेको संयुक्त सैन्य आक्रमण र त्यसविरुद्ध इरानले प्रत्याक्रमण गरेपछि पश्चिम एसियाको स्थिति तनावपूर्ण बनेको हो ।
मन्त्रालयले खाडी क्षेत्रका नेपाली नागरिकलाई द्वन्द्वको अवस्थाबारे नियमित जानकारी दिन र समन्वयमा रहनका लागि अनलाइन पोर्टल बनाई फाराम भर्ने व्यवस्था गरेको छ । यो पोर्टलमा त्यहाँ रहेका नेपालीले आफूलाई परेको अप्ठेरो र जिज्ञासाबारे जानकारी गराउन सक्नेछन् ।


प्रतिक्रिया