काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना अहिले भइरहेकाे छ । निर्वाचन आयाेगका अनुसार हालसम्म प्रत्यक्षतर्फ १५५ निर्वाचन क्षेत्रकाे नतिजा घाेषणा भइसकेकाे छ भने बाँकी १० निर्वाचन क्षेत्रकाे मतगणना जारी छ ।
साेमबार दिउँसाेसम्ममा सबै निर्वाचन क्षेत्रकाे प्रत्यक्षतर्फकाे मतगणना सम्पन्न हुने अपेक्षा गरिएकाे छ । समानुपातिकतर्फ खसेकाे १ कराेड ९ लाख मत मध्ये हाल सम्म ५० लाख (करीब ४६ प्रतिशत) काे मतगणना सम्पन्न भएकाे आयाेगले जनाएकाे छ ।
२७ फागुन बिहानसम्म समानुपातिकतर्फकाे सबै मतगणना भइसक्ने अपेक्षा गरिएकाे छ । समानुपातिकतर्फकाे मतगणना सम्पन्न भएपछि थ्रेसहाेल्ड पार गरेका दलहरूले प्राप्त गरेकाे मतका आधारमा आयाेगले सम्बन्धित दलकाे तर्फबाट निर्वाचित हुने सांसदकाे संख्या निर्धारण गर्ने आयाेगकाे तयारी छ ।
आयाेगका अनुसार निर्धारित संख्यामा समानुपातिक कलष्टर अनुसारकाे प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदकाे नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ ।
दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरे पछि साे नामावली समावेशी कलष्टर बमाेजिम मिले नमिलेकाे रूजु गरी समानुपातिकतर्फका निर्वाचित सांसदकाे नाम एकिन गरी प्रमाणपत्र उपलब्ध गराउने आयाेगले जनाएकाे छ । ५ चैत्रभित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्य सहित आयाेगले काम गरिरहेकाे आयाेगले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।


प्रतिक्रिया