नेपाल एयरलाइन्सको दुबई उडान सुचारु, यस्तो छ तालिका

नेपाल एयरलाइन्सको दुबई उडान सुचारु, यस्तो छ तालिका


ग्लोब नेपाल
270
Shares

काठमाडौं । खाडी क्षेत्रमा उत्पन्न द्वन्द्वका कारण प्रभावित बनेको अन्तर्राष्ट्रिय हवाई यातायात बिस्तारै लयमा फर्किन थालेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अवरुद्ध काठमाडौं-दुबई उडानआजदेखि पुनः सञ्चालन गर्ने भएको छ ।

सुरक्षा संवेदनशीलताका कारण निगमले गत फेब्रुअरी २८ तारिखयता यस गन्तव्यमा आफ्नो उडान सेवा स्थगित गरेको थियो । उडान अवरुद्ध हुँदा फेब्रुअरी २८ देखि मार्च ९ तारिखसम्मको टिकट काटेर पनि गन्तव्यमा पुग्न नपाएका यात्रुहरूलाई निगमले अहिले विशेष प्राथमिकतामा राखेको छ ।

उक्त अवधिमा टिकट लिएका यात्रुले बुधबारको उडानमार्फत यात्रा गर्न चाहेमा अनिवार्य रूपमा आफ्नो टिकट पुनः प्रमाणीकरण (रि-भ्यालिडेट) गराउनुपर्नेछ । यात्रुको सहजतालाई मध्यनजर गर्दै इमेलमार्फत नै टिकट प्रमाणीकरण गर्न सकिने व्यवस्था मिलाइएको छ । उपलब्ध सिट सङ्ख्याका आधारमा ‘पहिला आउनेलाई पहिलो प्राथमिकता’ को नीति अनुरुप उडानको अवसर दिइने हुँदा समयमै सम्पर्क गर्न निगमले अनुरोध गरेको छ ।

निगमले टिकटको विधिवत पुनः प्रमाणीकरण भइसकेका यात्रुलाई मात्र उडानका लागि विमानस्थल प्रस्थान गर्न आग्रह गरेको छ । काठमाडौंबाट दुबई जान चाहने यात्रुले निगमको इमेल ठेगाना [email protected] र दुबईबाट नेपाल फर्किन चाहने यात्रुले [email protected] मा आफ्नो टिकट पठाएर प्रमाणीकरण गर्न सक्नेछन् ।

निगमको तालिका अनुसार काठमाडौंबाट दुबईका लागि ‘आरए २२९’ उडान बुधबार (११ मार्च) राति २३:१५ बजे हुनेछ भने दुबईबाट काठमाडौंका लागि ‘आरए २३०’ उडान बिहीबार (१२ मार्च) बिहान ०४:१० बजे हुनेछ । मध्यपूर्वमा अझै पनि सुरक्षा जोखिम पूर्ण रूपमा नहटेकाले विषम परिस्थिति सिर्जना भएमा जुनसुकै समयमा उडान रद्द हुन सक्ने र त्यसबाट पर्न जाने अतिरिक्त दायित्व निगमले वहन गर्न नसक्ने पूर्वजानकारी समेत यात्रुलाई गराइएको छ ।