काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा चौथो स्थानमै यथावत् रहेका छन् । आईसीसीले हिजोसम्मको अपडेट राखी आज अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र लगातार तेस्रो हप्ता पनि चौथोमै रहेका हुन् ।
आइतवार सम्पन्न आईसीसी टी–२० विश्वकपको समूह चरणमा गरेको प्रदर्शनपछि तीन हप्ताअघि दीपेन्द्रको वरियता सुधार भएर छैटौंबाट चौथोमा उक्लिएका थिए । दीपेन्द्रले टी–२० विश्वकपमा नेपालका लागि सबैभन्दा धेरै १ सय ६९ रन बनाएका थिए ।
बलिङमा २ विकेट लिए । त्यही प्रदर्शनबाट दीपेन्द्रको रेटिङ अङ्क बढेर अहिलेसम्मकै उच्च २ सय ४४ पुगेको छ । अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा र भारतका हार्दिक पान्ड्या दोस्रोमै यथावत् रहेका छन् ।
तेस्रो स्थानमा पाकिस्तानका सायम अयुब र पाँचौंमा अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ यथावत् छन् ।


प्रतिक्रिया