काठमाडौं । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र एक कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालत काठमाडौँमा दायर गरेको छ ।
आयोगका अनुसार नगरपालिकामा करार सेवामा कार्यरत असिस्टेन्ट सब-इन्जिनियर मोहन शाहले आफ्नो सेवा अवधि नवीकरण गराउन नगर प्रमुख वादीलाई एक लाख रुपैयाँ घुस दिएको आरोप छ । आर्थिक वर्ष २०८१/८२ मा करार अवधि थप गर्न उक्त रकम दिएको र त्यसपछि आगामी आर्थिक वर्षका लागि पनि रकम माग गरिएको विवरण उजुरीमा उल्लेख गरिएको छ ।
घुस रकम उपलब्ध नगराउँदा करार अवधि नथपिएको भन्दै शाहले आयोगमा उजुरी दिएका थिए। सोही आधारमा अनुसन्धान अघि बढाइएको थियो ।
आयोगले गरेको अनुसन्धानबाट सेवा करार अवधि निरन्तर गराउनका लागि नगर प्रमुखलाई रकम प्रदान गरिएको र त्यसअनुसार करार नवीकरण भएको पुष्टि भएको दाबी गरिएको छ । उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐनअन्तर्गतको कसुर मान्दै दुवै जनाविरुद्ध अभियोग दायर गरिएको आयोगले जनाएको छ ।


प्रतिक्रिया