काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले मुलुकमा दुई तिहाइ बहुमतको सरकार बन्ने अवस्था आउँदा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला रहेको भन्दै सचेत रहन आग्रह गरेका छन् ।
भक्तपुरमा शुक्रबार आयोजित नेपाल बार एसोसिएसन कानून व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
अध्यक्ष मिश्रले विगतका दृष्टान्तहरू प्रस्तुत गर्दै नयाँ सरकारलाई बारले ‘बेनिफिट अफ डाउट’ (शंकाको सुविधा) दिए पनि संविधानवाद मिचिएमा कडा कदम चाल्ने चेतावनी दिए ।
‘जब दुई तिहाइ सरकार आउँछ, तब न्यायपालिकालाई सबैभन्दा पहिला प्रहार गर्ने प्रचलन रहेको छ। नेपाल बार एसोसिएसन नवनिर्मित सरकारलाई बेनिफिट अफ डाउट दिन्छ, सरकारका सबै क्रियाकलापहरू संविधानवाद र कानून अनुरूप हुन् भन्ने हाम्रो शुभेच्छा छ । यो सरकार पाँचै वर्ष टिकोस् भन्ने चाहना हो । तर संविधानवाद् र कानूनको शासनलाई चिर्न थालियो भने बारले आफ्नो पोजिसन लिन्छ । त्यसो गर्नु हाम्रो कर्तव्य पनि हो र हाम्रा पुर्खाले गर्दै आएको काम पनि हो,’ उनले भने ।
विगतका आन्दोलनहरूमा बारले ठूलो मूल्य चुकाएको स्मरण गर्दै उनले ल फर्महरू जलाइएको, बारको भवनमा बम पड्काइएको र आगजनी गरिएको अवस्थाबाट उठेर बार अहिलेको अवस्थामा आइपुगेको बताए ।
उनले न्यायपालिकालाई जोगाउन सबै कानून व्यवसायी र न्यायाधीशहरू सजग हुनुपर्ने संवेदनशील अवस्था आएको समेत स्पष्ट पारे ।


प्रतिक्रिया