काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्डमा आजदेखि ३ रात सवारीसाधन चलाउन रोक लगाइएको छ । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) कार्यालयले एक सूचना जारी गर्दै यस्ताे जानकारी गराएकाे हाे ।
कार्यालयले सूचना जारी गर्दै शुक्रबार बेलुका ७ देखि आइतबार बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा सवारी रोक्ने निर्णय गरेको हो ।
दाउन्ने खण्डमा सडक चिप्लो हुँदा सवारी सञ्चालनमा कठिनाई भएकाे छ । बुटवल-नारायणगढ सडक विस्तारअन्तर्गत अहिले दाउन्ने खन्डमा काम भइरहेको छ ।
‘यस दुम्किबास-दाउन्ने-बर्दघाट क्षेत्रमा मिति २०८२ चैत्र ६ गते दिउँसो १ बजेदेखि परिरहेको भारी वर्षाका कारण सडक चिप्लो भई यस खण्डमा ठूला मालवाहक सवारीसाधनहरू चिप्लिने, अड्किने समस्या देखिएको र सो कारणले सडक जाम भएर सवारी आवागमन अवरुद्द भएकोले सडक आवागमनको अवस्था हेरी मिति २०८२/१२/०६ देखि २०८२/१२/०८ सम्म रातिको समयमा (बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म) ठूला मालवाहक सवारीसाधनलाई बर्दघाटतर्फ त्रिवेणी चोक (टीसीएन चोक) मा र दुम्किबास बजारमै रोकी छोटो तथा लामो दूरीका यात्रुवाहक सवारीसाधन तथा आकस्मिक सेवाका सवारीसाधनलाई प्राथमिकताका आधारमा मात्र सञ्चालन गर्न/गराउन यो सूचना जारी गरिएको छ’, सूचनामा भनिएकाे छ ।


प्रतिक्रिया