ठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् ।
नेकपा संयोजक प्रचण्डले पार्टीका ५० प्रतिशत केन्द्रीय सदस्यले घण्टीमा भोट हालेको रिपोर्ट आएको भन्दै छानिछानी कारबाही गर्ने चेतावनी दिएका थिए ।
प्रचण्डको त्यही अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले भनेका छन्, ‘नेपालको लोकतान्त्रिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कम्युनिस्ट पार्टीका नेता कमरेडहरूले हालैको आमनिर्वाचनको परिणाम पछि गम्भीर आत्मसमीक्षा गर्नु सट्टा उल्टै पार्टीको पक्षमा मतदान नगर्ने लाखौँ नेता–कार्यकर्ता–समर्थकहरूलाई छानिछानी कारबाही गर्छु भन्नु विडम्बनापूर्ण छ ।’
माक्र्सदेखि माओसम्मले संश्लेषण गरेको र संसारभरका कम्युनिस्टहरूले अनुसरण गर्ने दर्शन भौतिकवादी द्वन्दवादको आधारभूत नियम अनुसार कुनै वस्तु वा घटनाभित्रको अन्तर्विरोध वा समस्याको प्रधान कारण आफैभित्र हुन्छ भन्ने कुरा ख्याल गर्न सक्नुपर्ने उनको भनाइ छ ।
उनले थपेका छन्, ‘अहिलेको कुरा छोडेर गत एक दशकको मात्र नेपाली कम्युनिस्टहरूको ओरालो यात्राको हिसाब गर्दा २०७४ सालमा झन्डै दुई तिहाइ रहेको जनमत २०८२ मा करिब २२ प्रतिशतमा झर्नु सबै बाह्य कारणले (वैदेशिक षड्यन्त्रले?) मात्र होला त? अनि त्यो दोषको मुख्य जिम्मा मूल नेतृत्वले नलिएर सहायक नेतृत्व वा कार्यकर्ताले मात्र लिनुपर्ला त ?’
चोर औँला अरूमाथि ठड्याउँदा बाँकी औँलाहरू आफैतिर फर्कन्छन् भन्ने पनि हेक्का राख्ने कि? भन्दै प्रश्न गरेका छन् ।
‘बरु पछिल्लो निर्वाचन परिणामसम्म आइपुग्दा समग्र कम्युनिस्ट आन्दोलनलाई नै बदलिएको विश्व र राष्ट्रिय परिस्थिति अनुरूप नयाँ विचार/नीति/कार्यक्रम/सङ्गठन/नेतृत्व सहित नयाँ ढङ्गले रूपान्तरण गर्ने दिशामा सोच्नुपर्ने हैन र ? नत्र रुस र पूर्वी युरोपदेखि पश्चिम बंगालसम्म जे भयो यहाँ हुन्न भन्ने के ग्यारेन्टी छ र?’ उनको भनाइ छ ।


प्रतिक्रिया