काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्वपालाई जनताले पाँच वर्षभन्दा बढी टिक्न नदिने टिप्पणी गरेका छन् ।
आइतबार पार्टीको ओखलढुङ्गा शाखाले काठमाडौँमा आयोजना गरेको निर्वाचन समीक्षात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘मुलुक बनाउने कुरा, जिल्ला बनाउने कुरा, बेथिति र विकृतिविरुद्ध लड्ने कुरामा हामीहरुको सामुहिक प्रयत्न र प्रयासबाट मात्रै ठिक ढंगको उपलब्धी प्राप्त हुन्छ भन्ने कुरा हामीले भुल्नु हुदैन । हामी छुटयौँ र फुट्यौँ तथा हिजोको जस्तै राजनीतिक कार्यशैलीमा गयौँ भने हामीलाई जनताले पाँच वर्षभन्दा बढी गरेर खान दिँदैनन् । यो कुरा पनि हामीले भुल्नु हुँदैन’ उनले भने ।
उनले पार्टीभित्र एकता, संगठन सुदृढीकरण र सुशासनका लागि सामूहिक प्रयास अपरिहार्य रहेको पनि बताए । उनले मुलुक निर्माण, भौतिक विकास तथा बेथिति र विकृतिविरुद्धको लडाईं सामूहिक प्रयासबाट मात्र सम्भव हुने उल्लेख गरे । उनले पार्टीलाई संगठनात्मक रूपमा अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए ।
साथै रास्वपाका समर्थक, मतदाता र शुभेच्छुकलाई संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे । ‘जिल्लामा हामीले सांगठनिक हिसावले धेरै कामहरु गर्नुपर्नेछ । अहिले नागरिकले हामीलाई धेरै मत दिनुभएको छ । तर पनि हामीले उहाँहरुलाई सांगठनिक हिसावले एकतावद्ध गर्न सकिरहेका छैनौँ । यो घडिमा हामीले रास्वपाका सम्पूर्ण शुभचिन्तक, मतदाता सबैले यो पार्टीलाई बलियो बनाउनको लागि संगठन निर्माणमा पनि त्यतिकै ध्यान दिनुपर्ने आवश्यकता छ’ उनले भने ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीको अब बन्ने सरकारप्रति नागरिकको उच्च अपेक्षा र चासो रहेको पनि बताए । उनले रास्वपा सरकारले नागरिकको अपेक्षाअनुरुप काम गर्ने दाबी पनि गरे । ‘हाम्रो अबको केही दिनमै सरकार बन्दैछ । सरकार बन्दैगर्दा देशभरका नागरिकहरुले यो सरकारले कसरी काम गर्छ ? मुलुक र जनताको जीवन कसरी परिवर्तन गर्छ भन्ने आकांक्षा मात्रै नभई कौतुहलताका साथ हेरिरहेका पनि छन् । अब बन्ने रास्वपा सरकारले नागरिक अपेक्षाअनुसार काम गर्नेछ भन्ने विश्वास छ’ उनले भने ।


प्रतिक्रिया