काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइको पेसी तय भएको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा पेसी तय भएको हो । यसअघि गत चैत ५ मा भएको सुनुवाइपछि न्यायाधीशहरू सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासले आफूबाहेकको इजलासमा सोमबारका लागि सुनुवाइको पेसी तोक्न आदेश दिएको थियो ।
सोहीअनुसार, अहिले सुनुवाइको तयारी भइरहेको छ । सर्वोच्चको मागबमोजिम महान्यायाधिवक्ता कार्यालयबाट पेस भएको अघिल्लो निर्णय संशोधनसम्बन्धी फाइल पेस भएको छ ।
महान्यायाधिवक्ता सविता भण्डारीले माघ २ मा लामिछानेसहित अरू सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् । भण्डारीले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णयपछि कानुनी विवाद लिएको थियो ।
भण्डारीको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुस बडाल र युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका हुन् ।


प्रतिक्रिया